धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटस्थित मोहना नदीमा मापदण्ड विपरीत अवैध उत्खनन भइरहेको पाइएको छ। राजघाटस्थित पुल नजिकै स्काभेटर प्रयोग गरेर ढुंगा, गिट्टी र बालुवा धमाधम निकालिँदै आएको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार वातावरणीय प्रभाव मूल्यांकन (आईईई) नगरी नै नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। विशेषगरी मोहना पुल आसपास क्षेत्रमा नियमविपरीत दोहन हुँदा नदीको स्वरूपमा असर पर्न थालेको उनीहरूको भनाइ छ।
कृष्णपुर नगरपालिका–९ का वडाध्यक्ष कैलाश बलायरले अवैध उत्खनन रोक्न आफूले पहल गरे पनि ठेकेदारले अटेर गर्दै पुनः काम सुरु गरेको बताए। “हामीले रोक्न खोज्यौं, तर ठेकेदारले नमानेर फेरि उत्खनन गरिरहेका छन्,” उनले भने। उक्त क्षेत्रमा नदीजन्य पदार्थ उत्खननको ठेक्का साउन महिनामा लगाइएको थियो। सो ठेक्का यमुना निर्माण सेवाले पाएको जनाइएको छ। तर, ठेक्काको सर्त र मापदण्ड विपरीत काम भइरहेको आरोप छ।
यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टले मापदण्डविपरीत भइरहेको उत्खनन रोक्ने प्रतिबद्धता जनाएका छन्। उनले भोलिनै अनुगमन टोली खटाएर स्थलगत निरीक्षण गर्ने र आवश्यक कारबाही अघि बढाइने बताए। तर, यस विषयमा थप प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख, उपप्रमुख तथा सम्बन्धित इन्जिनियर सम्पर्कमा नआएको गुनासो गरिएको छ।
स्थानीयवासीले भने अवैध उत्खननमा वन समिति र केही जनप्रतिनिधिहरूको समेत मिलेमतो रहेको आरोप लगाएका छन्। आर्थिक लाभका लागि नियमविपरीत उत्खनन गराउन सहयोग गरिएको उनीहरूको दाबी छ। अवैध उत्खननका कारण मोहना नदीको धार परिवर्तन हुने जोखिम बढेको छ। यसले वर्षायाममा आसपासका बस्ती डुबानमा पर्ने खतरा समेत बढाएको स्थानीयको चिन्ता छ। साथै, नदीजन्य स्रोतको अत्यधिक दोहनले दीर्घकालीन वातावरणीय क्षति निम्त्याउने विज्ञहरू बताउँछन्।
यो घटनाले स्थानीय तहमा नियमनको कमजोरी, वातावरणीय मापदण्डको बेवास्ता र सम्भावित मिलेमतोको गम्भीर प्रश्न उठाएको छ। अब अनुगमन टोलीको छानबिनले वास्तविकता बाहिर ल्याउने र दोषीमाथि कारबाही हुनेमा स्थानीयले अपेक्षा गरेका छन्।

