धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विशेष महाधिवेशनभन्दा अघिको अवस्थामा पार्टीलाई पुर्याएर मात्रै नेपाली कांग्रेस एकढिक्का हुनसक्ने बताएका छन् । धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
तत्कालै सिंगो कांग्रेस अधिवेशनमा लैजानु पर्छ, मुख्यमन्त्री शाहले भने, ञविशेष महाधिवेशनभन्दा पहिलेको परिस्थितिमा कांग्रेस गए मात्रै सिंगो पार्टी नियमित महाधिवेशनतर्फ जान्छ । मुख्यमन्त्री शाहले आफ्नो सभापति अहिले पनि देउवा नै भएको पनि बताएका थिए । कांग्रेसमा शेरबहादुर देउवा र गगन थापा दुबै नेताको आवश्यकता भएको बताउँदै उनले पार्टीलाई एकजुट बनाउनतर्फ सबैले लाग्नुपर्ने बताए ।
देउवा र उनको परिवारका सदस्यको अनुहार देखाएर चुनाव जान नसकिने टिप्पणीका कारण अहिलेको चुनावमा कांग्रेसलाई क्षति पुगेको मुख्यमन्त्री शाहको संकेत थियो । मुख्यमन्त्री शाहले वक्तव्य जारी गर्दै निर्वाचन सफल बनाउन योगदान पुर्याउने सबै पक्षलाई पनि धन्यवाद दिएका छन् । उनले संघीयताप्रति वितृष्णा बढ्दै गएको अवस्थामा अब बन्ने सरकारले संघीय व्यवस्था मजबुत बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

