धनगढी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशका राजनीतिक दल र उम्मेदवारहरू चुनावी मैदानमा सक्रिय बनेका छन्। १६ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा यसपटक केही प्रभावशाली नेताहरू निरन्तर जितको श्रृंखला कायम राख्दै चौथो जितको खोजीमा छन्। विशेषगरी दुई नेता लगातार तीन पटक विजयी भइसकेकाले यसपटक उनीहरूको प्रतिस्पर्धा र रणनीतिलाई चासोका साथ हेरिएको छ।
बैतडी–१ मा दामोदर भण्डारीको चौथो दाउ
दामोदर भण्डारी बैतडी क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार हुन्। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले उम्मेदवारी दिए पनि माओवादीका नरेन्द्र कुँवर (विजय सुन्दर) सँग पराजित भएका थिए। तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनले तिनै कुँवर र कांग्रेसका लोकराज अवस्थी लाई पराजित गर्दै संसदीय यात्रा सुरु गरे। त्यसपछि २०७४ मा कांग्रेसका नर बहादुर चन्द लाई हराए भने २०७९ मा पुनः नरेन्द्र कुँवरलाई पराजित गर्दै तेस्रो पटक निर्वाचित भए। यसपटक भण्डारी कांग्रेसका चतुर चन्द, नेकपाका पर्मानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि मोहन भण्डारी र राप्रपाका भुपेन चन्द सँग प्रतिस्पर्धामा छन्। निरन्तर तीन पटकको जितले आत्मविश्वास बढाएको भन्दै भण्डारीले यसपटक पनि सहज जित निकाल्ने दाबी गरेका छन्।
कैलाली–५ मा प्रेम आलेको नयाँ समीकरण
प्रेम आले यसअघि डोटीबाट २०७० र २०७४ मा नेकपा एमालेबाट निर्वाचित भएका थिए। २०७९ मा भने नेकपा (एकीकृत समाजवादी) बाट विजयी भएका उनी यसपटक नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवारका रूपमा कैलाली क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा छन्। डोटीबाट कैलाली झरेका आले व्यक्तिगत प्रभाव र संगठनात्मक आधारका कारण जित सुनिश्चित रहेको दाबी गर्छन्। तर नयाँ क्षेत्र, नयाँ मतदाता र फरक राजनीतिक समीकरणले उनको चौथो जितको यात्रा सहज वा कठिन हुने भन्ने विषयमा राजनीतिक विश्लेषकहरू चासोपूर्वक हेरिरहेका छन्।
अन्य चर्चित प्रतिस्पर्धीहरू
यसपटक सुदूरपश्चिमका अन्य निर्वाचन क्षेत्रमा पनि अनुभवी नेताहरू चुनावी प्रतिस्पर्धामा छन्।
कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउँद
दार्चुलामा एमालेका गणेश ठगुन्ना
अछाम–१ मा नेपाली कम्युनिस्ट पार्टीका भिम रावल
कैलाली–४ मा एमालेका लेखराज भट्ट
कैलाली–३ मा एमालेका गौरिशंकर चौधरी
यी नेताहरूको राजनीतिक यात्रा जित र हार दुवै अनुभव गर्दै अघि बढेको छ। यसपटकको निर्वाचनले उनीहरूको राजनीतिक भविष्य निर्धारण गर्नेछ। सुदूरपश्चिममा यसपटकको प्रतिनिधिसभा निर्वाचन केवल दलबीचको प्रतिस्पर्धा मात्र नभई व्यक्तिगत प्रभाव, अघिल्लो कार्यकालको मूल्यांकन र बदलिँदो राजनीतिक समीकरणको परीक्षा पनि बनेको छ। निरन्तर जित निकाल्दै आएका नेताहरूका लागि चौथो जित प्रतिष्ठाको विषय बनेको छ भने नयाँ चुनौतीहरू पनि उत्तिकै जटिल छन्।


