बैतडी — बैतडीमा घाइते अवस्थामा भेटिएको चितुवाको दुई दिनपछि उद्धार गरिएको छ ।
जिल्लाको सिगास गाउँपालिका–१ खरकेउडास्थित खोल्सामा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार गरेर डडेल्धुरा पुर्याइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले बताए ।
आइतबार घाइते अवस्थामा चितुवा भेटिएको जानकारी प्राप्त भएपछि सोमबार साँझ राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय शुक्लाफाँटाबाट प्राविधिकहरुको टोली मगाएर चितुवाको उद्धार गरिएको प्रमुख गिरीले बताए ।
घाइते चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुरामा खोरमा राखेर उपचार कार्य जारी रहेको छ । उपचारपछि चितुवालाई जंगलमा छोडिने उनले बताए । चितुवा पासोमा फसेर घाइते भएको हुन सक्ने अनुमान गरिएको छ । यो वर्ष मात्रै बैतडीमा पासोमा फसेका तीन चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।


