डोटी — डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी बोगटान फुड्सिल गाउँपालिका-३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउदको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार साउदलाई सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा पुर्याई जाँच गर्दा आइतबार साँझ ८:१५ बजे चिकित्सकले मृत घोषणा गरेको हो । सोही दुर्घटनामा घाइते भएकी बोगटान फुड्सिल-३ मेल्टाकी १७ वर्षीया सीता साउद र १९ वर्षीय शारदा साउद तथा जिप चालक बोगटान फुड्सिल-६ पलाडीका २७ वर्षीय तीर्थ बोगटीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार दिउँसो १ बजेतिर बोगटान गाउँपालिका-३ धौलाबस्तीस्थित सुपप्र ०३ ००१ च ००१४ नम्बरको बोलेरो जिप दुर्घटना भएको थियो । बोगटानबाट दिपायलतर्फ आउँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।


