धनगढी । बैतडीको पुर्चौडी नगरपालिकामा भएको बस दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ। विवाह उत्सव मनाएर फर्किएका १३ जनाको अकल्पनीय तथा असामयिक निधनको खबरले आफू मर्माहत बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले उक्त दुःखद घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले आफ्नो तथा पार्टीको तर्फबाट पीडित परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत व्यक्त गरेका छन्।
एउटै गाउँ तथा परिवारका धेरै व्यक्तिले ज्यान गुमाउनुपरेको यस घटनाले स्थानीय क्षेत्रमा ठूलो रिक्तता पैदा गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएकाहरूको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएका छन्।


