बैतडी– बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । पुचौँडी नगरपालिका– ७ बढ्गाउँ मोडमा भएको दुर्घटनामा ८ जनाको घटनास्थलमै र पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले बताउनुभयो । ।
पवनदुत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस बिहीबार राती ९ः१० बजेको समयमा दुर्घटनामा परेको थियो । बसमा ४९ जना सवार रहेका थिए । दुर्घटनामा मृत्यु हुनेहरुमा बझाङ बित्थडचिर गाउँपालि वडा नं. ७ का ४० वर्षीय केशब राज जोशी, सोही ठाउँका १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णु दत्त जोशी, बझाङ बित्थडचिर नगरपालिका वडा नं. ७ बस्ने ४२ वर्षीय नरेश राज जोशी को मृत्यु मृत्यु भएको छ । यस्तै बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, बझाङ जयपृथ्बी नगरपालिका वडा नं. ७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ७ का ४० वर्षीया पुष्पा अवस्थीको मृत्यु भएको हो ।
यस्तै उपचारका लागि डडेल्धुरा लगिएका बझाङ बित्थडचिर गाउँपालिका वडा नं. ७ का १७ वर्षीय बिसन दत्त जोशी, सोही ठाउँका २८ वर्षीय दिपक राज जोशी, ४६ वर्षीय किसन दत्त जोशी, केदारस्यु गाउँपालिका वडा नं. ७ का २७ वर्षीय केशवराज भट्ट र पुचौँडी नगरपालिका वडा नं. ७ का १५ वर्षीया शुसिला जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।
घाइतेहरूलाई स्थानीय डिलेश्वरी माविको स्कुल बसबाट डडेल्धुरा अस्पताल लगिएको सशस्त्र प्रहरीबल ५१ नम्बर गुल्मका गुल्मपती डिएसपी जंगबहादुर कुँवरले बताउनुभयो । डिलेश्वरी माविको स्कुल बसबाट २५ जना, जीप मार्फत १२ र एम्बुलेन्सबाट गम्भीर घाइते ३ जना गरी ४० जना घाइतेलाइ डडेल्धुरा अस्पताल लगिएको थियो। उहाँका अनुसार गम्भीर घाइते तीन जनालाई डडेल्धुराबाट धनगढी रेफर गरिएको छ ।
दुर्घटना भएको जानकारी पाउनासाथ पुर्चौडी र ढोल्यामोडबाट प्रहरीको टोली खटि खटिएको थियो यस्तै पाटनबाट सशस्त्र प्रहरीका डिएसपी शंकर धामी नेतृत्वको टोली समेत घटनास्थलमा खटिएको थियो । निर्वाचनका लागि फिल्ड खटिएको नेपाली सेनाको टोलि समेत घटनास्थल पुगेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुले दुर्घटनामा घाइतेहरुको उद्धारमा सहयोग गरेका थिए । क्षमता भन्दा बढी यात्रु भएकाले दुर्घटना भएको प्रहरीले आसंका गरेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले बताउनुभयो ।
बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।


