धनगढी । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको भन्दै नागरिक समाजका अगुवा तथा राजनीतिक दलहरूले गम्भीर चासो व्यक्त गरेका छन् । निर्वाचन लक्षित प्रचार–प्रसार तीव्र बन्दै जाँदा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ । राजनीतिक दलहरू मैदानमा सक्रिय भइरहँदा सामाजिक सञ्जालको दुरुपयोग, आर्थिक चलखेल र प्रभावको प्रयोग बढ्दै गएकोप्रति सरोकारवालाले चिन्ता जनाएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भ्रामक सूचना, प्रचारात्मक सामग्री र अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै ध्यानाकर्षण गराइएको हो ।
धनगढीमा इन्सेख तथा नेपाल मानवअधिकार संगठन सुदूरपश्चिमद्वारा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले विगतका कमजोरी दोहोरिन नहुनेमा जोड दिएका छन् । सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यमको दुरुपयोग लोकतान्त्रिक प्रक्रियाका लागि चुनौती बनेको भन्दै त्यसको प्रभावकारी निगरानी र नियन्त्रण आवश्यक रहेको उनीहरूको निष्कर्ष थियो । कार्यक्रममा फाया नेपालकी अध्यक्ष गोमा आचार्यले सामाजिक सञ्जालको दुरुपयोगका कारण नागरिक भ्रमित र सशंकित बनेको बताइन् । सामाजिक सञ्जालको निगरानी बढाउनुपर्ने भन्दै उनले महिला उम्मेदवारको संख्या अत्यन्तै न्यून रहेको विषयमा समेत ध्यानाकर्षण गराइन् ।
यस्तै पत्रकार रमा चन्दले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट समेत निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको बताइन् । आचारसंहिता उल्लंघन गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ता तथा अनलाइन सञ्चार माध्यमलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग थियो । यसैबीच, पछिल्लो समय पैसाको बलमा उम्मेदवारी दिने र चुनाव जित्ने प्रवृत्ति बढ्दै गएको भन्दै राजनीतिक दलका प्रतिनिधिहरूले आचारसंहिता व्यवहारिक रूपमा कार्यान्वयन हुनुपर्ने बताएका छन् । कुनै दलले स्वस्थ तरिकाले प्रचार–प्रसार गरिरहँदा केहीले आचारसंहिता विपरीत गतिविधि गरिरहेको दाबी गर्दै सबैका लागि समान नियम लागू हुनुपर्ने उनीहरूको तर्क छ ।

नेकपा एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले हाल पैसाले मात्र चुनाव जितिने भन्ने गलत धारणा बसिसकेको बताए । निर्वाचन आयोगले खर्चको सीमा तोकेको भए पनि त्यसको पालना नभएको उल्लेख गर्दै उनले कडा अनुगमन र कारबाही आवश्यक रहेको बताए । एमाले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । नेपाली कांग्रेस कैलालीका सदस्य तपेन्द्र भुषालले पनि पछिल्लो समय बढी खर्च गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिने प्रवृत्ति बढेको बताए । खर्चको चर्चा धेरै भए पनि आचारसंहिता अनुगमन कमजोर रहेको उल्लेख गर्दै निर्वाचन आयोगले प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए । कांग्रेस सधैँ नियम–कानुनको परिधिमा रहेर निर्वाचनमा सहभागी हुने प्रतिबद्धता रहेको उनको भनाइ छ ।
निर्वाचन आयोगले भने आचारसंहिता अध्ययन गरी सबै पक्षले पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिएको छ । आचारसंहिता विपरीत गतिविधि देखिएमा उजुरी दिन आग्रह गर्दै आयोगले सामान्य कारबाहीदेखि उम्मेदवारी रद्दसम्मको कडा कदम चाल्न सकिने चेतावनी दिएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले कुनै सवारी साधनमा ब्यानर राखेर प्रचार गर्न समेत नपाइने स्पष्ट पारे । आचारसंहिता उल्लंघन देखिए उजुरी दिन आग्रह गर्दै उनले कडा कारबाही गरिने बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा शार्कीले निर्वाचन नै लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सबैको साझा दायित्व भएको बताए । सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे स्वच्छ निर्वाचन सम्भव हुने उनको भनाइ छ । नेपाल मानवअधिकार संगठन सुदूरपश्चिमका अध्यक्ष दिनेशराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कैलालीका मुख्य निर्वाचन अधिकृत भुवन सिंह थापा, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल मानवअधिकार संगठनका केन्द्रीय अध्यक्ष, इन्सेखका केन्द्रीय संयोजक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन इन्सेख सुदूरपश्चिमका संयोजक खडक जोशीले गरेका थिए ।
निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसको स्वच्छता र विश्वसनीयता कायम राख्न आचारसंहिता कडाइका साथ पालना हुनु अपरिहार्य देखिन्छ । सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, आर्थिक अनुशासन र सबै उम्मेदवारका लागि समान नियमको कार्यान्वयनले मात्र निष्पक्ष निर्वाचन सम्भव हुने सरोकारवालाको निष्कर्ष छ ।

