धनगढी । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर सुदूरपश्चिमको प्रमुख शहर धनगढीमा पहिलोपटक भव्य म:म महोत्सव आयोजना हुने भएको छ। आगामी माघ १६,१७ र १८ गते महोत्सव आयोजना हुने जनाइएको छ ।नेपालको हस्पिटालिटी क्षेत्रमा स्थापित सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ कटेज धनगढीले स्थानीय स्वाद र नेपालीहरूको खाजा म:मको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो।
धनगढीको मुटुमा अवस्थित सिद्धार्थ कटेज केवल रेस्टुरेन्ट मात्र नभई पूर्ण पारिवारिक मनोरञ्जन र विश्रामको केन्द्रका रूपमा परिचित छ। यहाँ लक्जरी स्टे, प्राइम डाइनिङ, शान्त पारिवारिक वातावरणमा स्वादिष्ट भोजन, स्विमिङ पुल तथा वाटर फन पार्कको सुविधा उपलब्ध छ। साथै ठूला सभा–समारोह, तालिम तथा उत्सवका लागि अत्याधुनिक हलहरूको व्यवस्था समेत गरिएको छ।
सिद्धार्थ कटेजले यसअघि नेपालगञ्जमा सफलतापूर्वक म:म फेस्टिभल आयोजना गरिसकेको अनुभव छ। चौथो संस्करणका रूपमा धनगढीमा आयोजना हुन लागेको यस महोत्सवमा २०० भन्दा बढी प्रकारका म:म परिकारको स्वाद लिन सकिने आयोजकले जनाएको छ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू समेत रहनेछन्। स्थानीय पहिचान झल्काउने परिकार, परम्परागत स्वाद र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले राखिएका यी स्टलहरू महोत्सवको थप आकर्षण बन्ने अपेक्षा गरिएको छ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवको पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्यान्ड तथा कलाकारहरूको प्रस्तुति रहनेछ भने तेस्रो तथा अन्तिम दिन पनि सांस्कृतिक कार्यक्रमसँगै म:म मेकिङ र कुकिङ कम्पिटिसन आयोजना गरिनेछ। सिद्धार्थ ग्रुपले हाल देशभर होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफे गरी ३३ वटा आउटलेटमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। स्थानीय खाद्य परिकारको प्रवर्द्धन र पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यसहित आयोजना हुन लागेको यस म:म महोत्सवमा सहभागी भई विविध स्वाद, संस्कृति र मनोरञ्जनको आनन्द लिन सिद्धार्थ कटेज धनगढीले आग्रह गरेको छ ।


