धनगढी: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले कैलाली क्षेत्र नम्बर ५ मा प्रचारप्रसारको कमान्ड बिस्णु कुमार चन्दलाई दिएको छ। पार्टीले चुनावी गतिविधिलाई प्रभावकारी र व्यवस्थित बनाउन चन्दलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी सुम्पिएको हो। एमाले कैलाली सचिवालय सदस्य तथा नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव समेत रहेका चन्द लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। संगठन निर्माण, जनसम्पर्क विस्तार र चुनावी अभियान सञ्चालनमा अनुभव हासिल गरेका चन्दको क्षमता र लगनशीलतालाई मध्यनजर गर्दै उक्त जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।
प्रचारप्रसार संयोजकको जिम्मेवारी पाएसँगै चन्दले कैलाली–५ मा पार्टीको अभियानलाई थप सशक्त बनाउने बताएका छन्। उनले पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको एजेन्डालाई घर–घरमा पुर्याउने गरी व्यापक प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै स्थानीय नेता–कार्यकर्ता, भातृ संगठन र शुभेच्छुकहरूलाई एकताबद्ध गर्दै परिणाममुखी अभियान सञ्चालन गरिने उनको भनाइ छ।
कैलाली क्षेत्र नम्बर ५ बाट एमालेले यज्ञराज ढुंगानालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। पार्टीले ढुंगानाको उम्मेदवारीलाई जितसम्म पुर्याउन संगठन सुदृढीकरण, जनसम्पर्क अभियान र चुनावी गतिविधिलाई तीव्र बनाउँदै लैजाने रणनीति लिएको छ।
एमालेले अनुभवी नेताहरूलाई जिम्मेवारी दिँदै चुनावी मैदानमा सक्रियता बढाएपछि कैलाली–५ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।

