धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट उम्मेदवार बन्न लागेका एक महिला र एक दलित नेताको टिकट खोसिएको छ । प्रदेशका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एमालेबाट एक मात्र महिला र एक मात्र दलित उम्मेदवारले टिकट पाएका थिए । तर टिकट पाएको २४ घण्टा नबित्दै दुवैको उम्मेदवारी फिर्ता गरिएको छ ।
एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट कमला बोहरा र बझाङबाट अफिलाल ओखेडालाई उम्मेदवार बनाएको थियो । तर पछि कञ्चनपुर–१ मा बोहराको स्थानमा तारालामा तामाङ र बझाङमा ओखेडाको स्थानमा ऐन महरलाई टिकट दिइएको छ ।
कमला बोहरा एमालेको ११औँ महाधिवेशनमा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी नेतृ हुन् । उनी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएकी छिन् । संगठन र जनआधार दुवै बलियो रहेको नेतृको टिकट खोसिनुलाई पार्टीभित्र अस्वाभाविक निर्णयका रूपमा हेरिएको छ ।
त्यस्तै, बझाङबाट टिकट पाएका अफिलाल ओखेडा पनि लामो राजनीतिक अनुभव बोकेका दलित समुदायका नेता हुन् । पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनलाई उम्मेदवार बनाइएपछि समावेशिताको सन्देश जाने अपेक्षा गरिएको थियो । तर उनको टिकट पनि छोटो समयमै खोसिएपछि दलित नेताहरू असन्तुष्ट बनेका छन् ।
प्रदेशभरि एक मात्र महिला र एक मात्र दलित उम्मेदवारको टिकट एकैपटक फिर्ता भएपछि एमालेभित्र असन्तुष्टि चुलिएको छ । पार्टीभित्रैका नेताहरूले समावेशिता र समान प्रतिनिधित्वको कुरा उठिरहेका बेला गरिएको यो निर्णय गलत सन्देश जाने भन्दै आलोचना गरेका छन् ।
एक महिला नेतृले नाम नखुलाउने सर्तमा भनिन्, “महिला मतदाता संख्या पुरुषभन्दा बढी छ, तर पार्टीले बनाएको एकमात्र महिला उम्मेदवारको पनि टिकट खोसिनु दुःखद हो । यो महिलामाथिको अपमान हो ।”
दलित नेताहरूले पनि पार्टीले समावेशी राजनीतिप्रति गम्भीर नदेखिएको आरोप लगाएका छन् । उनीहरूले नेतृत्व तहबाट निर्णय पुनर्विचार हुनुपर्ने माग गरेका छन् ।
टिकट खोसिएको विषयलाई लिएर एमाले सुदूरपश्चिम प्रदेश कमिटी र स्थानीय तहमा व्यापक छलफल र विरोधको स्वर उठ्न थालेको छ । आगामी दिनमा यो निर्णयले पार्टीभित्र थप तरंग ल्याउने देखिएको छ ।

