धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले गत बुधबार सागर ढकाललाई डडेल्धुरामा पार्टीको उम्मेदवारका रूपमा अघि सारे । रास्वपाका केही डडेल्धुरा प्रतिनिधिलाई साक्षी राखेर उनले सागरलाई टिकटको प्रत्याभूति दिलाएका थिए । रास्वपाले अहिलेसम्म कतै पनि उम्मेदवारहरूको औपचारिक टुङ्गो लगाएको छैन । पार्टीले निर्णय गर्नु अगावै बालेनले ‘टिकट दिएपछि’ सागर गदगद देखिएका थिए । यद्यपि, रास्वपाका स्थानीय नेताहरुले भने यसप्रति आन्तरिकरुपमा विभिन्न टिकाटिप्पणी गर्न थालेका छन् ।
सागर अघिल्लो चुनावमा पनि डडेल्धुराबाट उम्मेदवार बनेका थिए । तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उनले अप्रत्याशित रुपमा १३ हजार ४२ मत प्राप्त गरे । यसपटक देउवालाई हराएर संसद छिर्ने उनको धोको छ । सागरलाई रास्वपा उम्मेदवारका रुपमा अघि सार्दै बालेनले भनेका थिए, ‘उहाँले डडेलधुराबाट टिकट पाउने हो कि होइन भन्नेमा कन्फ्युजन होइन, रास्वपाले डडेल्धुराको उम्मेदवार सागर ढकाल पाउने हो कि होइन भन्ने चाहिँ कन्फ्यूजन हो । उहाँ फिक्स हो पार्टीको तर्फबाट, उहाँ आफैँले नाइँ नभनेसम्म । उहाँले भोलि डडेलधुराबाट उठ्दिन, अन्तै जान्छु भन्नु भएन भने उहाँ नै हो डडेलधुराको उम्मेदवार ।’
तर, डडेल्धुरामा रास्वपाबाट अरु पनि आकांक्षी छन् । जिल्ला पार्टी सभापति समेत रहेका इन्जिनियर सुरेन्द्र अवस्थीको पनि पनि टिकटका लागि बलियो दावेदारी छ । बालेनले सागर ढकाललाई डडेल्धुराबाट ‘फिक्स’ गर्दा अवस्थी भने संस्थापन पक्षबाट आफूलाई ग्रीन सिग्नल मिलेको दावी गर्छन् । ‘पार्टीले जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्छ । स्थानीय स्तरमा मेरो लोकप्रियता र जितको आधारले मलाई अगाडी बढाउने कुरा भएको छ’ उनले भने, ‘सागर ढकाललाई रुपन्देही वा गुल्मीबाट उठ्न पार्टीले सुझाव दिएको छ ।’
रवि पक्षबाट डडेल्धुरामा टिकट पाउने सम्भावना कम देखेपछि सागर बालेनको टिममा पुगेका थिए । रास्वपामा उनी बालेनकै कोटाबाट केन्द्रीय सदस्य भएका छन् । ‘मैले पनि केही घण्टा उहाँ (सागर) सँग बसेर डडेल्धुराको विषयमा कुरा गरेको थिएँ । उहाँ आफै डडेल्धुरा जान उत्साहित देखिनु भएको छ,’ अवस्थीले भने, ‘मैले त्यहाँ अहिले सम्भावना कम छ, अर्को क्षेत्र रोज्नुहोस्, गुल्मी वा रुपन्देही ठिक छ पनि भनेको थिएँ । तर, उहाँ डडेल्धुरा नै जाने अडानमा हुनुहुन्छ ।’
पार्टीले टिकट सुनिश्चित गर्नुभन्दा पहिल्यै बालेनले उम्मेदवारमा निश्चित भएको कुराप्रति उनले गुनासो व्यक्त गरेका छन् । पार्टी र विधि भन्दा व्यक्ति माथि हुन नसक्ने अवस्थीको भनाइ छ । अहिलेसम्म देउवा सातौँ पटकसम्म लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आइरहेका छन् । २०४८ देखि हालसम्म अपराजित रहने एक नेता उनी मात्रै हुन् ।
‘यो पटक म डडेल्धुराबाटै चुनाव उठ्दै छु, अबको केही दिनमै चुनावी प्रचार–प्रसारका लागि डडेल्धुरा जाँदै छु,’ ढकालले टिकटबारे भनिरहेका छन्, ‘अफिसियल रूपमा निर्णय त कसैको पनि भइसकेको छैन, तर मेरो लगभग फाइनल जस्तै हो । ’ देउवासँग निर्वाचन लडेपछि राम्रो मत पाएका सागरलाई त्यसपछि फर्केर नआएको आरोप डडेल्धुराबासीको छ । त्यसैमाथि ‘डडेल्धुराका जनता भेडा रैछन्’ भन्नेजस्ता अभिव्यक्तिले अहिले सागरप्रति अघिल्लोपटक जस्तो क्रेज नहरेको रास्वपाकै जिल्लास्तरको नेताहरू बताउँछन् ।

