धनगढी। अटिजम भएका बालबालिकाको शिक्षण–सिकाइ, क्षमता विकास र व्यवहार परिवर्तनमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी कोरियाली नागरिक योङ मेङ (सपना म्याम) को धनगढीमा भावुक विदाई गरिएको छ। कोरिया सरकार अन्तर्गतको कोइका (KOICA) नेपालमार्फत भोलिन्टियरका रूपमा नेपालमा कार्यरत सपना म्यामको राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालले भव्य कार्यक्रमबीच विदाई गरेको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालद्वारा सञ्चालित हिमालय स्पेसल स्कुल फर अटिजम एण्ड रिह्याबिलिटेशन मा सपना म्याम विगत एक वर्षदेखि भोलिन्टियरका रूपमा कार्यरत थिइन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी उनको सम्मानस्वरूप विदाई कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। धनगढीमा रहँदा सपना म्यामले म्युजिक र आर्ट थेरापीका माध्यमबाट अटिजम भएका बालबालिकाको सिकाइ क्षमता अभिवृद्धि, आत्मविश्वास विकास तथा व्यवहारिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।
विद्यालयकी शिक्षिका सानु सुवेदीका अनुसार सपना म्यामले “मनोरञ्जनसँगै सिकाउने” विधिलाई प्रभावकारी रूपमा प्रयोग गर्दै बालबालिकाको रुचि र क्षमताअनुसार शिक्षण सिकाइमा नयाँ ऊर्जा भरेकी थिइन्। “बच्चाहरुलाई रमाइलो वातावरणमा सिकाउने, उनीहरूको क्षमता पहिचान गरी विकास गर्ने र व्यवहार सुधारमा उहाँले उल्लेखनीय काम गर्नुभयो। यसले हामी शिक्षकहरूलाई पनि अटिजम भएका बालबालिकासँग काम गर्ने नयाँ तरिका सिक्न ठूलो सहयोग पुग्यो,” सुवेदीले भनिन्।
यस्तै, राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालका अध्यक्ष रमेश बस्नेतले सपना म्यामले संस्थामा सकारात्मक ऊर्जा र प्रेरणा थपेको बताए। “कोरियाबाट आउनुभएकी सपना म्यामले अटिजम भएका बालबालिकाको शिक्षण–सिकाइ, सामाजिक ज्ञान र व्यवहारिक सीप विकासमा महत्वपूर्ण योगदान दिनुभयो। उहाँको समर्पण, धैर्य र माया हामी सबैका लागि प्रेरणाको स्रोत बन्यो। उहाँले गरेको योगदानको सधैँ प्रशंसा गर्नेछौँ,” अध्यक्ष बस्नेतले भने।
विदाई कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा बालबालिकाले सपना म्यामप्रति कृतज्ञता व्यक्त गर्दै मायालु सम्झनासहित विदाई गरेका थिए। कार्यक्रममा बालबालिकाले संगीत तथा कलामार्फत प्रस्तुति दिँदै सपना म्यामसँग बिताएका क्षणहरू सम्झिएका थिए। एक वर्षको छोटो समयमै अटिजम भएका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल सपना म्यामको योगदानलाई विद्यालय र अभिभावकहरूले दीर्घकालीन रूपमा स्मरणीय रहने बताएका छन्। सपना म्यामले पनि नेपालमा बिताएको समय आफ्नो जीवनको अविस्मरणीय अनुभव रहेको उल्लेख गर्दै अटिजम भएका बालबालिकाप्रति सधैँ माया र समर्थन रहने बताएकी थिइन्।

