धनगढी । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदरुपश्चिम प्रदेशका ९ जिल्लामा १५ हजार १६९ जना जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समितिले आवश्यक पर्ने १५ हजार १६९ निर्वाचन प्रहरीका लागि दरखास्त आव्हान गरिएको जनाएको हो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि आवश्यक निर्वाचन प्रहरीका लागि भर्नाबारे शुक्रबार एकीकृत सूचना प्रकाशन गरिएको छ ।
निर्र्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका अनुसार, छनोट भएकालाई निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ बमोजिम सुविधाहरू उपलब्ध गराइने छ । निर्वाचन प्रहरीमा शुक्रबारदेखि आगामी माघ १ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।
समितिका अनुसार, नेपाल प्रहरीतर्फ १३ हजार ६६९ जना र सशस्त्र प्रहरी बलतर्फ १ हजार ५०० जना निर्वाचन प्रहरी माग गरिएको छ । आवेदकहरूले जिल्लास्थित नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालका कार्यालयबाट दरखास्त फारम बुझाउन सकिने सुदुरपश्मि प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी गौतम मिश्रले स्टेट सेभन अनलाइन लाई जानकारी दिए ।
दरखास्त दिनेहरू फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनु पर्ने जिल्ला प्रहरी कार्यालय मार्फत आवाह्न गर्ने सकिने उनले बताए । विषेशगरी पूर्व सुरक्षाकर्मी वा पूर्व वन रक्षक, यसअघि म्यादी प्रहरी भर्ना भइसकेका तथा सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएकालाई विषेश प्राथमिकता दिइने मिश्रको भनाई छ । निर्वाचन प्रहरीमा सवै भन्दा बढी कैलालीमा ४ हजार ९८ जना निर्वाचन प्रहरीका लागि दरखास्त आव्हान गरिएको छ । त्यसपछि कञ्चनपुरमा २ हजार ३२७ निर्वाचन प्रहरी भर्ना गरिने छ ।
नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालमा २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म बिभिन्न पदमा भर्नाका लागि आवेद दिइ शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाको हकमा प्रवेशपत्र पेश गर्ने व्यक्तिलाई पनि प्राथमिकतामा राखिएको छ ।

साथै, यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत भएका नेपाली नागरिकलाई पनि प्राथमिकतामा राखिएको छ ।
यसैगरी, निर्वाचन प्रहरीमा नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहेको, आतङ्ककारी तथा विध्वंसात्मक सङ्गठनको सदस्य नरहेको, शारीरिक र मानसिक रूपले स्वस्थ व्यक्तिले फाराम भर्न सक्ने छन् ।
आगामी माघ ५ देखि ९ गतेसम्म आवेदकको प्रारम्भिक छनोट गरी अन्तिम नतिजा माघ १२ गते प्रकाशित हुने छ । उत्तीर्ण निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइने छ ।
निर्वाचन प्रहरीको नियुक्ति पाएको मितिले ४० दिन वा सरकारले तोकेबमोजिम काम गर्नु पर्ने छ । निर्वाचन प्रहरीले प्रहरी जवानको सुरु तलब स्केल सरह प्रतिदिन आठ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७ सय ७६ पाउने छन् ।
उनीहरूलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेट अनुसार ४० दिनका लागि खाद्यान्न बापतको रकम र निर्वाचनको क्रममा ठाउँमा आउने र जाने तयारीस्वरूप आठ सय ४६ रुपियाँ र तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार दुई सय खाजा खर्च दिइने छ ।


