धनगढी । धनगढी उपमहानगरपालिका–६ स्थित जाली गाउँमा यस वर्ष पनि माघी पर्वको अवसरमा भव्य माघी मेला आयोजना हुने भएको छ । जाली गाउँ सामुदायिक वनको खेलमैदानमा यही पुस ३० गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ । जाली गाउँ माघी मेला संस्थाको आयोजनामा हुन लागेको यो मेला यस वर्ष पाँचौँ संस्करण हो । मेला स्थानीय थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको संस्थाका अध्यक्ष फुलाराम चौधरीले जानकारी दिए ।
मेलामा थारु समुदायका मौलिक खानपान, पहिरन, कला तथा संस्कृतिको झल्को दिने विविध कार्यक्रमहरू प्रस्तुत गरिने छन् । थारु परिकारका स्टलहरू, सांस्कृतिक नाचगान, झाँकी तथा सांगीतिक कार्यक्रम मेला आकर्षणको केन्द्र रहने आयोजकले जनाएको छ । दर्शक तथा आगन्तुकहरूका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । माघी पर्वको अवसरमा थारु समुदायको जीवनशैली नजिकबाट बुझ्न तथा स्थानीय स्वाद र संस्कृतिमा रमाउन सबैलाई मेलामा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।
हरेक वर्ष माघी पर्वको अवसरमा आयोजना हुँदै आएको यस मेलाले सामाजिक सद्भाव, आपसी सहकार्य तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउँदै आएको आयोजकको भनाइ छ । हाल मेलाको तयारी तीव्र रूपमा अगाडि बढाइएको संयोजक चौधरीले जानकारी दिए । स्थानीय बासिन्दा मात्र होइन, धनगढी उपमहानगरपालिका तथा आसपासका क्षेत्रका सर्वसाधारणका लागि पनि माघी मेला सांस्कृतिक उत्सवको रूपमा स्थापित हुँदै गएको छ ।

