धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख डीआइजी ओमबहादुर रानाबीच आज भेटघाट भएको छ। बुधबार मुख्यमन्त्री निवासमा सम्पन्न भेटमा प्रदेशको समग्र शान्ति सुरक्षा अवस्था तथा लागू औषध दुरुपयोग नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको हो। भेटका क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागू औषध दुरुपयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रण तथा निरुत्साहनका लागि प्रदेश प्रहरीले अझ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। लागू औषधका कारण विशेषगरी युवापुस्तामा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै उनले समाजलाई सुरक्षित राख्न प्रहरीको भूमिकालाई थप सशक्त र सक्रिय बनाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री शाहले लागू औषधको ओसारपसार, कारोबार तथा प्रयोग नियन्त्रणका लागि निगरानी प्रणालीलाई कडा बनाउनुपर्ने, सीमावर्ती क्षेत्रहरूमा सुरक्षा चेकजाँचलाई प्रभावकारी बनाउनुका साथै समुदायसँग समन्वय गरेर सचेतना अभियानसमेत सञ्चालन गर्नुपर्नेमा जोड दिए। साथै प्रदेशको समग्र शान्ति सुरक्षा अवस्था मजबुत बनाउन आवश्यक रणनीति र आगामी कार्ययोजनाबारे पनि छलफल भएको थियो।
जवाफमा प्रदेश प्रहरी प्रमुख डीआइजी ओमबहादुर रानाले लागू औषध नियन्त्रण, अपराध रोकथाम तथा शान्ति सुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रियताका साथ कार्य गरिरहेको जानकारी गराए। उनले लागू औषधविरुद्ध विशेष अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै मुख्यमन्त्रीबाट प्राप्त निर्देशनलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। भेटमा प्रदेशको सुरक्षा चुनौती, अपराध न्यूनीकरण, सीमावर्ती अपराध नियन्त्रण तथा जनताको सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

