धनगढीः केही दिनदेखि कुहिरो र हुस्सुसँगै लगातार चलेको शीतलहरले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगैको शीतलहरले कठ्याङ्ग्रिने जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो। लगातारको हुस्सुका कारण केही दिनदेखि कैलाली र कञ्चनपुरमा घाम झुल्किन पाएको छैन। चिसोका कारण जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्न दाउराको समस्या भएको छ।
चिसो बढेपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा धनगढी बजारका कतिपय चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ। शीतलहरले मजदुर, विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धालाई बढी असर पुगेको छ। कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहका अनुसार शीतलहरसँगै धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै गएको छ। चिसो बढ्दै जाँदा आज धनगढीको अधिकतम तापक्रम १३ दशमलव तीन डिग्री सेल्सियस र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा पुगेको छ। उनले भने, “अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा जाडो बढेको हो, अझै केही दिन शीतलहर कायम रहने पूर्वाअनुमान छ।”

