धनगढीः विशेष अदालतले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितताको अभियोग लागेका कैलालीको जानकी गाउँपालिका वडा नम्बर–१ का वडासचिव प्रेमबहादुर बुढासँग २ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरु हेमन्त रावल र विदुर कोइरालाको इजलासले बुढालाई २ लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश जारी गरेको हो। गत असोज ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित वडासचिब प्रेमबहादुर बुढासहित वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, बिजयबहादुर रावल, शेरबहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर विष्ट, कार्यालय सहयोगी सोनम कठरियाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
उनीहरूमाथि सोही वडामा नै मृत्युदर्ता पञ्जीकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेखसमेत बनाई जम्मा ६८३ जना लाभग्राहीको प्रतिवादीहरू आफैले औँठाछाप लगाई प्रमाणितसमेत गरेको आरोप थियो। त्यस्तै नवीकरण नै नभएको लाभग्राहीको रकम निकासा गरी÷गराई प्रतिवादीहरूले आफूसमेतलाई लाभ र गाउँपालिका र नेपाल सरकारलाई हानि नोक्सानी पु¥याई भ्रष्टाचार गरेको पनि आरोप थियो।

