धनगढी: भारतद्वारा अतिक्रमित नेपाली भूमीमा तैनाथ भारतीय सुरक्षा फौज चिसो बढेसँगै गुन्जी झरेको खुलेको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ माथिल्लो कौवा क्षेत्रसँग जोडिएको सीमावर्ती भू–भागमा तैनाथ भारतीय सुरक्षा फौज मिति मङ्सिर २७ गते बिहान करिब ११ बजे गुन्जी झरेको हो। स्थानीय स्रोतका अनुसार हाल भारतको उत्तराखण्ड राज्य अन्तर्गत पिथौरागढ जिल्लाको तहसिल धार्चुला, ग्राम सभा गुन्जी क्षेत्रमा भारतीय सुरक्षा फौज पुनः व्यवस्थापन गरिएको छ। चिसो मौसमका कारण अस्थायी (सिजनल) बीओपीबाट तल झरेर गुन्जी क्षेत्रमा बसाइँ सरेको बताइएको छ।
गुन्जी झर्ने फौजमा आईटीबीपी नं। ७ बाहिनी मिर्थी–डिडिहाट अन्तर्गत बीओपी लिपु पासबाट एक प्लाटुन तथा आईटीबीपी नं। ३६ बाहिनी मिर्थी–डिडिहाट अन्तर्गत बीओपी लिपु पासबाट एक प्लाटुन रहेका छन्। दुवै प्लाटुन एसआईको कमान्डमा परिचालन गरिएको जनाइएको छ। यसैबीच नेपाल–चीन–भारत त्रिदेशीय क्षेत्रसहित नेपाली अतिक्रमित भू–भाग आसपासका गतिविधिको निगरानीका लागि भारतीय सेनाले हेलिकप्टरमार्फत साप्ताहिक वा मासिक रूपमा हवाई गस्ती गर्ने गरेको समेत बुझिएको छ।
सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीको आवतजावत र निगरानी गतिविधि बढ्दै जाँदा नेपाली भू–भागको सुरक्षा र सार्वभौमिकताबारे थप चासो र चिन्ता व्यक्त हुन थालेको छ।


