कैलाली । सुदूरपश्चिम महोत्सवमा शनिबार बालबालिकाको उल्लेखनीय सहभागिता देखिएको छ। महोत्सव स्थल बाल उद्यान, खेलकुद सामग्री तथा गीत–संगीतका कार्यक्रमले बालबालिकालाई आकर्षित गरेका छन्। खुला वातावरणमा खेल्न, गाउन र रमाउन पाउँदा बालबालिका उत्साहित देखिएका छन्। धनगढीमा बालबालिकाका लागि स्थायी खेलमैदान र नियमित मनोरञ्जनको अभाव रहेकाले मंसिर २२ गतेदेखि सुरु भएको महोत्सवलाई धेरै अभिभावकले नानीबाबुका लागि उपयुक्त अवसरका रूपमा लिएका छन्। अभिभावकका अनुसार महोत्सवले मनोरञ्जनसँगै बालबालिकालाई सामाजिक र सांस्कृतिक गतिविधिसँग जोडिने मौका दिएको छ।
महोत्सव स्थलका खाजा तथा खेलौनाका स्टलहरूमा समेत बालबालिकाको बाक्लो भीड देखिएको छ। बालबालिकाले आफूहरूलाई खेल, संगीत र बाल उद्यान अत्यन्त मन परेको प्रतिक्रिया दिएका छन्। यद्यपि, शनिबार भीडभाड बढेसँगै बालबालिका हराउने जोखिमप्रति अभिभावकले चासो व्यक्त गरेका छन्। उनीहरूले आयोजकसँग बालबालिकाका लागि छुट्टै र सुरक्षित स्थानको व्यवस्था गर्न माग गरेका छन्।
आयोजक पक्षले आगामी दिनमा बालबालिकालाई लक्षित थप कार्यक्रम र खेलकुद गतिविधि थप्ने जनाएको छ। रमाइलो मेला संयोजक तथा कैलाली उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रेम बहादुर धामीले स्थान अभावका कारण तत्काल छुट्टै क्षेत्र व्यवस्थापन गर्न नसकिएको बताए।
धामीका अनुसार आगामी दिनमा बालबालिकाका लागि थप सामग्रीसहित सुरक्षित स्थानको व्यवस्था गर्न पहल गरिनेछ। शनिबार अन्य दिनको तुलनामा बढी भिडभाड हुने भएकाले कहिलेकाहीँ बालबालिका केही समय अभिभावकबाट छुट्टिए पनि सुरक्षा व्यवस्थाका कारण छिट्टै भेट गराइने उनले बताए। साथै, अभिभावकलाई आफ्ना नानीबाबुको विशेष ख्याल गर्न आग्रह गरेका छन्।


