डडेल्धुरा — डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ स्थित प्रसिद्ध मष्टा भगवती मन्दिरमा शुक्रबार भक्तजनको घुइँचोसहित भव्य मेला लागेको छ । ४५ फिटे भगवती माताको मूर्ति रहेको यो मन्दिरमा हरेक वर्ष मेला लाग्दै आएको छ । मंसिर शुक्ल चतुर्दशीका दिन मनाइने रतेडी र त्यसको दोस्रो दिन पूर्णिमामा लाग्ने दिउँसेडी जातअनुसार बिहीबार रातिदेखि नै भक्तजन मन्दिर परिसरमा भेला हुन थालेका थिए । परम्परागत विधिअनुसार भएको पूजापाठसँगै शुक्रबार दिउँसेडी सम्पन्न भएपछि यस वर्षको जात्रा सकिएको मेला व्यवस्थापन समितिले जनाएको छ । धार्मिक विश्वास र सांस्कृतिक परम्परा दुवैसँग जोडिएको यस पर्वमा देउडा, चौलो र बाजागाजाका कारण भक्तजनको आकर्षण बढ्दो छ ।
मष्टा भगवतीमा वार्षिक यो विशेष जात्रा बाहेक अन्य महत्त्वपूर्ण पर्वमा पनि जात्रा लाग्ने परम्परा छ । वैशाख १ गतेको विशु जात्रा र बडादसैंको दिन दशैं जात्रा विशेष रूपमा मनाइने गरेको छ । असिनापानीका कारण गाउँमा किसानहरूको अन्नबाली तथा फलफूलमा ठूलो क्षति पुगेपछि अनिकालबाट बच्न देवीको कृपा प्राप्त गर्ने विश्वाससहित स्थानीयले मन्दिर स्थापना गरी पूजापाठ गर्ने परम्परा रहेको छ । उक्त प्रचलनअनुसार अहिले पनि स्थानीयले जात्रा मनाउने गरेका छन् ।
मेलामा यसपालि पनि स्थानीय कृषि उपज सुन्तला, गुँड, दाल, विभिन्न खाद्य परिकारदेखि घरमै बनेका खाद्य वस्तुको व्यापार पनि मेलामा रहेको थियो । यसका साथै भारतका विभिन्न क्षेत्रबाट आएका व्यापारीले पनि व्यापार–व्यवसाय गरेका छन् । धार्मिक तथा सांस्कृतिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिने यो मेला यहाँका बासिन्दाको सामाजिक एकताको केन्द्रसमेत मानिन्छ ।
वर्षभरि विभिन्न जात्रा लाग्छन् तर मष्टा भगवतीको जात्रा भने सामूहिक श्रद्धा र रौनकको पहिचान भएको स्थानीय मदन बोहराले बताए । उनका अनुसार चौलो र देउडा खेल्दै जात्रालाई उत्सवपूर्ण रूपमा समापन गर्ने चलन वर्षौंदेखि चलिआएको हो । स्थानीयका अनुसार यहाँको जात्रा सकिएसँगै आसपासका मठमन्दिरमा लाग्ने अन्य देवीदेवताको मेला पनि सकिने परम्परा छ ।
असिनापानीले अन्नबाली नोक्सान भएपछि अनिकाल रोक्न देवीसमक्ष प्रार्थना गर्ने चलनअनुसार परापूर्वकालबाट जात्रा लाग्दै आएको मन्दिर क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर बोहराले बताए । उनले मेलामा हजारौं भक्तजनको घुइँचो लाग्नुका साथै स्थानीय व्यापार व्यवसायमा समेत टेवा पुगेको बताए ।


