धनगढी: सत्ती प्रहरी चौकीमा कार्यरत प्रहरीहरूले सत्ती बजार र खैरिपुरस्थित प्रहरी पोस्ट आसपास सरसफाइ गरेका छन्। ऐतिहासिक पद्मप्रकाशेश्वर मन्दिरमा दर्शनार्थी आउने क्रममा बजारको सौन्दर्य प्रभावित हुने देखिएपछि चोक क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको सत्ती प्रहरी चौकीका नयाँ इन्चार्ज प्रहरी नायब निरीक्षक सुशील चन्दले जानकारी दिनुभयो। इन्चार्ज चन्दका अनुसार बजार क्षेत्र सफा राख्न केवल प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको सचेत भूमिका आवश्यक रहेको छ। “सार्वजनिक स्थल सफा राख्न सबैको साझा जिम्मेवारी हो, नागरिक स्वयं सचेत भए मात्र दीर्घकालीन सुधार सम्भव हुन्छ,” उहाँले बताउनुभयो।
सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र
जिल्ला प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेका तथा विवादरहित छवि बनाएका प्रहरी नायब निरीक्षक चन्दले सत्ती क्षेत्र सीमावर्ती, व्यापारिक तथा यातायातको दृष्टिले अत्यन्तै संवेदनशील रहेको बताउनुभयो। साबिक धनसिंहपुर गाविस र नारायणपुर क्षेत्र समेटिएको सत्ती इलाका खक्रौला भन्सारसँग जोडिएको छ। सो भन्सार भएर दिनहुँ ठूलो परिमाणमा मालसामान आवतजावत हुने तथा हुलाकी मार्गसमेत यही क्षेत्र भएर गएको हुँदा सुरक्षाको दृष्टिले यो क्षेत्र निकै महत्वपूर्ण मानिन्छ। यस कारण प्रहरीले सधैं सजगता अपनाएर शान्ति–सुरक्षा कायम राख्न सक्रिय रूपमा काम गरिरहेको उहाँको भनाइ छ।
चोरी र खुकुरी घटनालाई गम्भीर रूपमा लिइएको
केही महिना अघि दिनदहाडै भएको चोरी तथा युवाबीच भएको खुकुरी प्रहार घटनालाई गम्भीर रूपमा लिएको बताउँदै इन्चार्ज ठकुरीले यस्ता गतिविधि दोहोरिन नदिन प्रहरी सक्रिय रूपमा निगरानी बढाएको जानकारी दिनुभयो। अपराध नियन्त्रण तथा समाजमा शान्ति सुव्यवस्था कायम राख्न प्रहरी र नागरिकबीच सहकार्य अपरिहार्य रहेको उहाँले जोड दिनुभयो।
ऐतिहासिक र व्यापारिक रूपमा महत्वपूर्ण क्षेत्र
सत्ती क्षेत्र ऐतिहासिक, धार्मिक तथा व्यापारिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ ऐतिहासिक पद्मप्रकाशेश्वर मन्दिर, चर्चित पुरानो सत्ती गल्ला मण्डी, बेतबाँसको खानी रहेको सत्ती–कर्णाली सामुदायिक वन, हुलाकी मार्ग तथा खक्रौला भन्सार अवस्थित छन्। सत्ती प्रहरी चौकी क्षेत्रको सुरक्षा हेर्ने जिम्मेवारी हाल १ जना हवलदार र ४ जना सिपाहीको काँधमा रहेको छ। ऐतिहासिक रूपमा यो प्रहरी चौकीले खक्रौला देखि टीकापुर, लम्की, चिसापानी हुँदै सोल्टा–सुङ्गुरखालसम्मको विस्तृत क्षेत्रको सुरक्षा हेर्ने गरेको इतिहाससमेत रहेको छ।
प्रहरी चौकी सत्तीले पछिल्लो समय सरसफाइ, अपराध नियन्त्रण र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै गतिविधि सञ्चालन गरिरहेको स्थानीयवासीले बताएका छन्।


