धनगढी: कैलालीका किसानहरूलाई हिउँदेबालीका लागि आवश्यक रसायनिक मल (युरिया) पाउन गम्भीर समस्या देखिएको छ । मलको अभावका कारण एक बोरा मलका लागि पनि किसानहरू रातभर जाग्राम बसेर लाइनमा उभिन बाध्य छन् । तर रातभर कुर्दा पनि धेरै किसानहरू मल नपाई रित्तोहात फर्किनुपर्ने अवस्था रहेको छ । जिल्लाको भजनी नगरपालिकामा यो समस्या सबैभन्दा बढी देखिएको छ । अधिकांश कृषियोग्य जमिन रहेको भजनी क्षेत्रमा किसानहरूले गहुँ, तरकारी तथा अन्य हिउँदेबालीमा मल हाल्ने समयमै मल अभाव भएपछि खेती नै प्रभावित हुने चिन्ता बढेको छ । बिक्रि केन्द्रहरूमा किसानहरू रातभर लाममा बसे पनि सीमित मात्रामा मल वितरण गरिँदा सबैले पालो पाउने अवस्था छैन ।
भजनीका किसान हरि प्रसाद चौधरीले हरेक वर्ष जस्तै यस वर्ष पनि मलको समस्या दोहोरिएको गुनासो गरे । उनका अनुसार राति १२ बजे देखि नै लाइन बसेर पनि बिहान खाली हात फर्किनुपर्ने अवस्था छ । “खेतीको सिजन आयो, तर मल छैन । बाली नलगाउने कि मलको पछाडि दौडिने ?” उनले आक्रोश व्यक्त गरे । किसानहरूको गुनासो अनुसार एकातिर धान बिक्री गर्न हप्तौँसम्म लाइन बस्नुपर्ने बाध्यता छ भने अर्कोतिर गहुँ छर्ने महत्वपूर्ण समयमा मल नपाउँदा थप समस्या खेप्नुपरेको छ । भजनीका अर्का किसान भरत चौलागाँइले मल सहज रुपमा नपाउँदा उत्पादन घट्ने र किसानको लागत बढ्ने अवस्था आएको बताए । उनले सरकारले मल वितरण प्रणाली प्रभावकारी बनाइ सहज रूपमा उपलब्ध गराउनुपर्ने माग गरे ।
हाल जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मल वितरण हुँदै आएको छ । साल्ट ट्रेडिङले समेत केही दिनभित्र मल वितरण सुरु गर्ने तयारी गरेको जनाएको छ । तर कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार जिल्लामा प्राप्त हुने सरकारी कोटा सीमित भएकै कारण सबै किसानलाई एकैपटक मल उपलब्ध गराउन कठिन भइरहेको छ । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवल सिंह बोगटीले मागभन्दा आपूर्ति न्यून भएकाले समस्या आएको स्वीकार गरेका छन् । उनका अनुसार सरकारी कोटा अनुसार मात्र मल वितरण गर्न पाउने व्यवस्था भएकाले जिल्लाका सबै किसानको माग धान्न नसकिएको हो । “हामीसँग आउने मल सीमित छ, माग अत्यधिक छ । त्यसैले सबैलाई एकजुट रुपमा उपलब्ध गराउन कठिन भएको हो,” बोगटीले भने । उनका अनुसार राल्ट ट्रेडिङले समेत केही दिनभित्र मल वितरण सुरु गर्ने तयारी गरेको छ । अहिले मल नियमित रुपमा गइरहेको बताउँदै उनले अभावै नरहेको बताए ।
यद्यपि विगतका वर्षको तुलनामा यस वर्ष मल केही समयमै वितरण सुरु गरिए पनि किसानको माग अत्यधिक रहेकाले आपूर्ति अपर्याप्त भएको कृषि सामग्री कम्पनीले जनाएको छ । सरकारी कोटाले जिल्लाका किसानको वास्तविक आवश्यकता पूरा गर्न नसकेको भन्दै किसानहरूले आवश्यकताअनुसार पर्याप्त मल समयमै उपलब्ध गराउन सम्बन्धित निकायसमक्ष माग गरेका छन् । यदि मलको अभाव यथावत् रहेमा हिउँदेबालीको उत्पादनमा गम्भीर नकारात्मक असर पर्ने र किसानको आर्थिक अवस्था थप कमजोर हुने चिन्ता बढ्दै गएको छ ।


