धनगढी: राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय धनगढीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष मनोज अग्रवालले कर प्रणालीलाई अझ प्रभावकारी र पारदर्शी बनाउन सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य रहेको बताएका छन्।
कार्यक्रममा उनले उद्योग वाणिज्य संघ सरकार र व्यवसायीबीच सेतुको रूपमा काम गर्ने संस्थाको हैसियतले दुई पक्षबीच सहजीकरण गर्न सधैं तयार रहेको जानकारी दिए। उनले भने, “सरकारले बनाएको नियमअनुसार व्यवसायीले कर तिर्ने गरेका छन्। तर करसम्बन्धी धेरै विषयमा व्यवसायी अझै पनि अनभिज्ञ हुने गर्दछन्, त्यसैले आन्तरिक राजस्व कार्यालय र संघबीच निरन्तर सहकार्य आवश्यक छ।”
अग्रवालले करसम्बन्धी त्रुटि व्यवसायीको ज्ञानको कमीबाट हो कि जानाजानी हो भन्ने बुझेर मात्र जरिवाना लगाउन राज्य संयन्त्रले ध्यान दिनुपर्नेमा जोड दिए। उनका अनुसार, कर शिक्षा र परामर्शमार्फत व्यवसायीलाई सही जानकारी प्रदान गर्न सके कर प्रशासन झनै सहज र विश्वासिलो बन्नेछ।
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा व्यवसायी, करदाताहरू, कर प्रशासनका प्रतिनिधि तथा विभिन्न संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमले करप्रति नागरिक र व्यवसायीमा जागरूकता अभिवृद्धि गर्ने तथा कर दायित्व बुझ्ने संस्कार विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको थियो।


