धनगढी । “दाइ र अङ्कल कालो चिया खाइदिनूस् न,” प्रायः यसरी नै विनम्रतापूर्वक आग्रह गर्दै कालो चिया बेच्दै हिँड्नु पुष्पा जोशीको अचेल दैनिकी बनेको छ । हातमा चिया राखेको बोतल र गिलास बोकेर साँझबिहान धनगढीको क्याम्पस रोड क्षेत्रमा उनी देखिन्छीन् । बझाङकी पुष्पा धनगढीमा आफ्नो शैक्षिक खर्च आफैँ जोहो गर्नका लागि डुल्दै चिया बेच्दै आएकी छन् । “म गरी खान्छु र आफ्नो पढाइ खर्च आफैँ बेहोर्छु भनेर चिया बेच्ने काम गर्न थालेको उनको भनाई छ । उनले भनीन् “जब मलाई दुःख हुन्छ, तब मात्रै पैसाको महत्व बुझ्न सक्छु ।”
कैलाली बहुमुखी क्याम्पसमा बिबिएस पहिलो वर्षमा अध्ययनरत पुष्पा धनगढीमा भाउजूसँग बसेर साँझबिहान चिया बेच्ने काम गरिरहनुभएको छ । यो काम गर्दा घरपरिवारका कसैले पनि चित्त नदुखाएको उनको भनाइ छ । चारबर्से बिबिएस अध्ययन गर्न वार्षिक २८ हजार रुपियाँ खर्च हुने गर्छ । त्यति पैसा चिया बेचेर आफूले जुटाउने लक्ष्यका साथ काम थालेको उनले बताइन् ।
“अहिले त काम थालेको थोरै मात्रै भएको छ,” मुस्कुराउँदै पुष्पाले भन्नुभयो, “तर यति पैसाको जोहो गर्न सक्छु । मेरो पढाइ खर्च आफैँ जुटाउँछु, ताकि पढाउन यत्रो खर्च गरियो भनेर अभिभावकको गुनासो सुन्न नपरोस् ।”
चियाका लागि सुकमेलको धुलो, अदुवा, ल्वाङ, काली मरिच, चियापत्ती, चिनी खरिद गर्न अभिभावकसँग पैसा नमागेको उनले बताइ् । आफूले जोगाएर राखेको पैसाबाटै सामान खरिद गरेर चिया व्यापार गर्न थालेको उल्लेख गरिन् । “कमाएर पछि बझाङमा रहेकी आमालाई घरखर्च र दुई भाइबहिनीको शैक्षिक खर्चका लागि पनि पठाउने योजना छ,” उनले भनिन् ।
पुष्पाका बुवा भारतमा काम गर्दै आउनुभएको छ । जेठी र कान्छी आमाबाट गरेर पाँच सन्तान छन् । पाँच सन्तानलाई पढाउन बुवालाई समस्या पर्ने भएको हुँदा आफ्नो शैक्षिक खर्च आफैँ जुटाउने निर्णयमा पुगेको पुष्पाले उल्लेख गर्नुभयो । उहाँ प्रतिगिलास १५ रुपियाँमा चिया बिक्री गर्नुहुन्छ । गोरखापत्र


