बैतडीः त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा पुगेको छ। सेमिफाइनल प्र्रवेश गर्ने क्रममा त्रिपुराले जनसेवा क्रिकेट क्लबमाथि ६ विकेटको जित निकाल्यो। जनसेवाले दिएको ९५ रनको सामान्य लक्ष्य त्रिपुराले ११ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। उसका लागि त्रिलोक महरले ३४, महेन्द्र थापाले २५ र लोकेन्द्र थापाले १५ रनको योगदान दिए। बलिङतर्फ जनसेवाका लागि रुपेश चन्द र कमलेश महरले २÷२ विकेट लिए।
बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी छन्। आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए।
प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए। गत वर्ष सम्पन्न २१औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)ले जितेको थियो।

