कैलाली । जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारीमाथि सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल खनिएका छन् । आयोगका सदस्य भण्डारी कञ्चनपुरको अनुगमनमा थिए । केही स्थानीय तहको निरीक्षणपछि सदस्य, प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुखलगायतको टोली एमाले पोलिटब्युरो सदस्य समेत रहेका पूर्वमुख्यमन्त्री रावलको निवासमा पुगेको थियो ।
२४ गते रावलको घरमा पनि तोडफोड, लुटपाट र आगजनी गरिएको थियो । आज टोली पुग्दा रावल त्यही थिए तर, दोहोरो कुराकानी भएन। उनीहरूले घर हेरे र फर्किए । त्यसपछि टोली अन्य क्षति भएका संरचनाको निरीक्षणमा लाग्यो । निरीक्षण र अनुगमन पछि भीमदत्त नगरपालिकाको कार्यालयमा सर्वदलीय र सर्वपक्षीय छलफलको आयोजन गरिएको थियो । दिउँसो कबिर २ बजेतिर कार्यक्रम सुरु हुनै लाग्दा पूर्व मुख्यमन्त्री रावल कार्यक्रम स्थलमा पुगेका थिए । जाँचबुझ आयोगका नाममा घाउमाथि झन् नुन थप्ने कार्य गरेको भन्दै आयोगका सदस्यमाथि रावलले आफै ‘बोक्सी आफै धामी’ भएको आरोप लगाए ।
‘हु आर यु ? पार्टी कार्यालय व्यक्तिका घर, राष्ट्रिय सम्पत्ति जनाउने, अपराधिहरुलाई कारबाही नगर्ने रु’ रावल कड्किए । सदस्यले त्यसको प्रतिवाद गर्न खोज्छन् । रावल अझै जङ्गिन्छन् र स्टेजमै पुग्छन्। केहीबेर सदस्य र रावलको अंग्रेजीमै नोकझोक हुन्छ । ‘मेरो बालबच्चाको हालत देख्नु भएको छ अहिले नाटक देखाउन आउनु भएको’ स्टेजमै पुगेर रावलले कड्किँदै भन्छन्, ‘मेरो पार्टी कार्यालयमा आगो लाग्दा तपाइ के तमासा देखाउन आउनु भएको यहाँ ?’
राज्यको तर्फबाट बडा नाटक देखाउन आउने भन्दै रावल झन् आक्रोशित हुन्छन् । ‘तपाइहरू अपराधी हो सदस्य भण्डारीलाई औला ढड्याउँदै’ उनी भन्छन्, ‘यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आएको हो तपाइहरू । ’’ रावलले राज्यको कोषको दुरुपयोग गरेको आरोप पनि सदस्यमाथि लगाउँछन् । ‘तपाई जनविरोधी मान्छे । सरकारी कार्यालय आगो लगाउने, जनताको घरमा आगो लगाउने अनि यहाँ आएर बढ्ता बोल्ने’ सदस्य नजिकै पुगेर झन् चर्को स्वरमा थर्काउँछन् । ।
रावल र सदस्यबीचको नोकझोकले अन्तरक्रिया कार्यक्रम नै प्रभावित भएको थियो । जिल्ला समन्वय समितिले जिल्ला सभाको आयोजना गरेको थियो । त्यो कार्यक्रमबाट जिल्लाका सबै स्थानीय तहका प्रमुख उपप्रमुखहरू जाँचबुझ आयोगको छलफलमा बोलाइएको थियो । बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिकाका नगरप्रमुख र कार्यालय प्रमुख, सुरक्षाकर्मी र केही कर्मचारीहरू उपस्थिति रह्यो ।
२ बजे बस्ने भनिएको बैठक ढिलो गरी साढे तिन बजे सुरु भएको थियो । तर बैठकमा उपस्थित भएका अधिकांश घर फर्किसकेका थिए । गत भदौ २२ र २३ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको सचिवालयको पत्रानुसार, जेनजी आन्दोलनका क्रममा जिल्लामा भएको क्षतिको सम्बन्धमा बिहीबार दिउँसो बैठक डाँकिएको थियो । बैठकमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, जेनजी आन्दालेनमा क्षति पुगेका नेता लगायतलाई पनि बोलाइएको थियो । तर, सदस्य र रावलबीचको नोकझोकले एमालेका जनप्रतिनिधीहरुले बैठक बहिस्कार गरे । बैठक बसिरहेको पालिकाका मेयर कांग्रेसका जिल्ला सभापति हुन् उनी पनि बैठकमा सहभागी भएनन् । कार्यक्रम सुरु नहुँदै माहौल गरम भएपछि सीमित जनप्रतिनिधि र कर्मचारीहरुबीच आयोगले छलफल गर्न बाध्य भएको थियो ।
‘आयोग जेनजी समर्थकहरूबाट बनेको हो । यसबाट न्याय पाइँदैन । यसको कुनै पनि औचित्य छैन । सिंहदरबार जलाउन उक्साउनेहरू आयोगमा छन् ’ कार्यक्रम बहिस्कार गरेर निस्किएपछि रावलले भने, ‘निष्पक्ष छानबिन गर्ने हो भने स्वतन्त्र व्यक्तिहरूबाट आयोग बनाउनु पर्छ । नियतवश रूपमा बनाइएको आयोगबाट हामीले न्याय पाउँदैनौँ । ’

