धनगढी: २४ गते भएको आन्दोलनका क्रममा कैलालीमा सरकारी कार्यालय र सवारी साधन तोडफोड तथा जलाइएका छन् । प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा रहेका नेपाल टेलिकम, विद्युत, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका र नेपाल प्रहरीको बाहेक सबैजसो कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ । ती बाहेकका प्रायजसो सबै सरकारी कार्यालयका भवनमा आगजनी गरिएको छ भने सवारी साधन समेत जलाइएका छन् ।
जिल्लाको धनगढी मात्र नभएर अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुर लगायतका ठाउँमा रहेका सरकारी संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अध्ययनअनुसार जिल्लाभर एक सय आठ सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ भने दुई र चार पाङ्ग्रे गरेर छ सय वटा सवारीसाधन समेत जलाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले प्रारम्भिक विवरणअनुसार १०८ सरकारी कार्यालय भवन, १०० वटा चार पाङ्ग्रे गाडी र ५०० जति मोटरसाइकल आगजनीले नष्ट भएको पाइएको बताउनुभयो । कार्यालयहरुले उपलब्ध गराएको प्रारम्भिक विवरण हेर्दा जेनजी आन्दोलनका दिन जिल्लामा सरकारी संचरनामा ठूलो क्षति भएको बताउदै जोशीले तथ्यांक तलमाथि हुनसक्ने बताउनुभयो । उहाँका अनुसार ८÷९ पार्टी कार्यालय र नेताका निजी घर समेत जलाइएका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी गरेपछि सेवा प्रवाह ठप्प भएको छ । शनिबार सरसफाइ गरेको प्रशासनले आइतबारदेखि टेन्ट गाडेरै भएपनि अत्यावश्यक सेवा प्रदान गर्ने तयारी गरेको छ । आगजनीपछि कैलाली जिल्ला अदालत, मालपोत, नापी कार्यालय र प्रदेश सरकार अन्तरगतका प्राय सबै निकायको कामकाज रोकिएका छन् । अवस्था समान्य बन्दै जान थालेपछि यी कार्यालयहरुले समेत सेवा प्रवाहका लागि वैकल्पिक उपायको खोजी गर्न थालेका छन् ।

