धनगढी । निजी विद्यालयहरुले शिक्षा ऐनको विभेदकारी नीति विरुद्ध देशभर एकसातादेखि विभिन्न चरणमा आन्दोलन, धर्ना गर्दै आएका छन्। यसै क्रममा आज धनगढीका निजी विद्यालयले कोणसभा सँगै कैलाली जिल्लाका जिल्ला प्रमुख कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएका छन्।
नेपाल सरकारले ल्याएको शिक्षा ऐनमा निजी विद्यालयलाई सौतेनी व्यवहार गरेको र यो ऐन कुनै हालतमा पनि लागु हुन नदिने भन्दै निजी विद्यालय अन्तरगतका प्याब्सन, ऐन प्याब्सन लगायतका संस्थाले देशभर आन्दोलन गरिरहेका छन् । कैलाली जिल्लाका निजी विद्यालयहरुले पनि विगत एक हप्तादेखि निरन्तर आन्दोलनमा सक्रियता दिँदै आएको प्याब्सनका कैलाली जिल्ला अध्यक्ष धुर्ब बहादुर सिंहले जानकारी दिए ।
“गुणस्तरीय शिक्षा, निजी विद्यालयको प्रतिबद्धता” भन्ने नाराका साथ ज्ञापनपत्र बुझाउन गएका शिक्षकहरुलाई जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा नै सुरक्षा कर्मीले रोकेपछि आफ्नो माग सहित कोणसभालाई सम्बोधन गरेका थिए। प्याब्सन, एन प्याब्सन लगायतका पदाधिकारीले कोणसभालाई सम्बोधन गर्दै गर्दा जिल्ला प्रमुख अधिकारी कृष्णप्रसाद लम्साल बाहिर जान लागे पछि शिक्षकहरुले गाडीलाई गेटमै रोकेका थिए।
आफ्नो ज्ञापनपत्र नबुझेर बाहिर जान नपाउने, प्रमुख जिल्ला अधिकारीले थोरै समय रोक्नुपर्छ भनेर अडान गर्दा सुरक्षाकर्मी र केही शिक्षकबीच धकेला धकेल समेत भएको थियो। यस आन्दोलनले उग्र रुप लिने अवस्था सिर्जना भएपछि प्रमुख जिल्ला अधिकारी लम्सालले ज्ञापनपत्र बुझ्दै शिक्षकहरुको यो संस्कार भएन भन्ने प्रतिक्रिया दिएका थिए ।
प्याब्सनका सुदूरपश्चिम प्रदेश अध्यक्ष सिबी चन्दले माग पुरा नभएसम्म कुनै हालतमा पनि पछाडि नहट्ने बताएका छन्। उनले भने हामी र हाम्रा सम्पूर्ण कर्मचारीको जिम्मा सरकारले लिए आफुहरु सरकारीकरण गर्न समेत तयार रहेको बताए।

