महेन्द्रनगर: उम्मेदवारी दर्ताकै दिन कांग्रेस निकट नेपाल विद्यार्थी संघले सुदूरपश्चिम विश्वविद्यालयमा लगाएको तालाबन्दी बिहीबार खोलेको छ । तालबन्दी खुले पनि स्ववियु निर्वाचन समयमै हुनेरनहुने बारे भने अन्योल कायमै छ । तीन दिन तालाबन्दीका कारण निर्वाचन कार्यतालिका प्रभावित छ । अब त्यही कार्यतालिका अनुरुप निर्वाचन हुन्छ वा सारेर हुन्छ भन्ने विषयमा अन्योल छ । विश्वविद्यालय स्थापनाको १६ वर्षमा प्रवेश गर्दा हालसम्म निर्वाचन मिति घोषणा हुने अनेकन वाद विवादले चुनाव नहुने अवस्थाबाट गुज्रीएकाले अहिले ताला खुलेपनि अन्यौता भने कायमै छ । यसपटक तीन स्वतन्त्रसहित १० विद्यार्थी संघ संगठनले निर्वाचनमा सहभागिताका लागि दर्ता गराएका थिए ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा १४ साउनमा स्वतन्त्र विद्यार्थी यूनियन९स्ववियु० निर्वाचनकोे कार्यतालिका थियो । जसअनुरुप ६ साउनमा उम्मेदवारी दर्ताकै दिन नेवि संघ नरेश पण्डित समूहले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो । नेवि संघ र सुदुरपश्चिम विद्यालयका पदाधिकारीबिच बिहीबार वार्ता भएपछि ताला खोलेको नेवि संघले जनाएको छ । नेवि संघ केन्द्रीय सदस्य ईन्द्र साउदले नेवि संघ जिल्ला अध्यक्ष नरेश पण्डितमाथि कुटपिट घटनाको छानबिन, उपचार खर्च, नेवि संघका विद्यार्थीमाथि पेट्रोल छर्किएर आक्र्रामण गर्न खोजेको घटनाको छानबिनदेखि विद्यार्थीका हकहितका विषयमा विश्वविद्यालय सहमत भएपछि ताला खोलिएको जनाएको छ । ‘विश्वविद्यालयले नेवि संघले उठान गरेका माग सम्बोधन गर्ने मौखिक सहमतिपछि ताला खोलेका छौँ,’ उनले भने, ‘हाम्रो चाहना तालाबन्दी गरेर चुनाव भाँडने होइन । विद्यार्थीको प्रतिनिधि सिनेटमा पठाएर विद्यार्थीका समस्या सम्बोधन गर्न वातावरण सृजना होस् ।’
अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल समाजवादी, बहुमत क्रान्तिकारी र प्रजातान्त्रिक विद्यार्थी संगठनले निर्धारित समय १४ साउनमै चुनावको माग अघि सार्दै आएका थिए । उम्मेदवारी दर्ताकै दिन लफडा मच्चिएपछि विद्यार्थी संघ संगठन आ–आफ्ना गल्ती कमजोरीको आत्मसमिक्षाको साटो आरोप प्रत्यारोपमा उत्रिएका थिए । सुपविका अन्य आंगिक क्याम्पसहरूमा स्ववियु चुनाव भए पनि केन्द्रीय क्याम्पसमा स्थगित भएपछि विद्यार्थी चिन्तित छन् ।
चुनाव नहुँदा झण्डै साढे तीन हजारभन्दा बढी विद्यार्थीको नेता छान्ने इच्छा पूरा हुन सकेको छैन । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसले चुनावका लागि तयारी भइरहेको जनाएको छ । निर्वाचन समितिका संयोजक कर्णदेव भट्टले सबै पक्षबाट चुनावका लागि शान्तिपूर्ण वातावरण बनाउनुपर्ने अपिल गरेका छन् ।


