धनगढी: रोपाइँपछि हरियालीमा परिणत भएको खेतमा देखिने चरा किसानका सहयोगी बनेका छन् । धानबालीलाई हानि पुर्याउने किराफट्याङ्ग्रा खाएर विभिन्न प्रजातिका चराले किसानलाई सहयोग गरिरहेका हुन्छन् । कैलालीमा रोपाइँपछि यतिबेला खेतमा हरियाली छाएको छ । त्यसमा थरी थरीका बकुल्लादेखि गरुडलगायत विभिन्न प्रजातिका चरा रमाइरहेका छन् ।
“चराहरू खेतमा आउनु किसानका लागि ठुलो फाइदा हो,” धनगढीका रमेश धामीले भने, “यिनीहरूले किराफट्याङ्ग्रा खाएर सित्तैमा किसानलाई सहयोग गरिरहेका छन् ।” उनले विषादी छर्केर किरा मार्नुभन्दा पनि चरा जोगाए प्राकृतिक रूपमै किरा नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कृषि बालीमा विषादी न छर्के आफ्नै स्वास्थ्यका लागि पनि फाइदाजनक हुने उनको बुझाइ छ ।


