अछाम: अछामको कमलबजार नगरपालिकाले जंकफुड निषेधगरी रैथाने खानेकुरालाई प्रोत्साहन गर्ने नीति अपनाउने भएको छ । आर्थिक वर्ष २०८२्र/०८३ बाट यस्तो नीति अपनाउ लागिएको हो । नगरपालिकाको कार्यालयबाटै त्यसको पहिलो कार्यान्वयन प्रारम्भ गरिने नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए । २०८२/०८३ देखि नगरपालिकाको कार्यालयभित्र जंकफुड सँगै चाउचाउ, चाउमिन जस्ता खानेकुरामा समेत प्रतिवन्ध लगाउने तयारी गरिएको उनले बताए । ढकालका अनुसार त्यसका लागी कार्यपालिकाबाट निर्णय नै गरेर कडाई गरिने छ ।
आइतबार दिउँसो कमलबजार नगरपालिकामा आयोजित बाल कचहरी कार्यक्रमको समीक्षाका क्रममा उनले जंकफुडले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्ममा गम्भीर समस्या देखिन थालेपछि त्यसलाई निषेधगरी रैथाने अन्नबालीलाई प्रोत्साहन गर्न लागीएको बताए । रैथाने बालीबाट बन्ने खाना तथा खाजाका परिकार बनाउने स्थानीय होटलहरुलाई अनुदानको ब्यवस्था गरिने उनको भनाई छ ।
नयाँ आर्थिक वर्षकालागी बजेट निर्माणको चरण चलिरहेकाले नगरका दशवटै वडालाई लक्षीत गरेर रैथाने बालीको विकास र प्रवर्द्धनको विषय मुख्य प्राथमीकतामा राखिने उनले बताए । छलफलमा वडाध्यक्ष र कर्मचारीहरुलाई समेत जंकफुड विरुद्धको अभियानमा साथ दिन आग्रह गरे । नगर उपप्रमुख शारदा विष्ट ९कुवँर० ले विद्यालय तहदेखि नै जंकफुड निषेधको अभियान चलाइने बताइन् । बजार र कार्यालयमा मात्र नभएर विद्यालयमा समेत अत्यधिक जंकफुडको प्रयोग हुने गरेको भन्दै उनले घरबाटै खाजा लैजाने वा विद्यालयमै रैथाने परिकार खुवाउने ब्यवस्था गरिनुपर्नेमा जोड दिइन् ।
राजनीतिक दबाबका कारण कतिपय सामाजिक विषयहरु ओझेलमा परेको भन्दै वडा नम्बर ५ का वडाध्यक्ष सत्यराज तिमिल्सिनाले सामाजिक रुपान्तरणका विषयमा जनप्रतिनिधिहरु एकजुट भए मात्र यस्ता अभियान सफल हुने बताए । त्यसका लागी योजनावद्ध रुपमा अघि बढे यो सँगै समस्याका रुपमा रहेको बालविवाह अन्त्यको अभियानमा पनि सुधार हुने बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीका अनुसार यस्ता विषयहरुलाई प्राथमीकतामा राखेर बजेट निर्माण भइरहेको छ । आस्था नेपाल र वल्डभिजन सँगको साँझेदारीमा बालविवाह विरुद्धको अभियानमा रहेको कमलबजारले नयाँ आर्थिक वर्षदेखि जंकफुड विरुद्ध लागेर रैथाने बालीको संरक्षण र प्रबर्द्धन गर्ने लक्ष्य राखेको शाहीले बताए ।
कमलबजारले आर्थिक वर्ष २०८१/८२ को सुरु देखि नै पशुपालन र रैथानेबालीको विकासमा विशेष सहुलियतको ब्यवस्था गरेको थियो । जस अन्तरगत पाँचवटा भैँसी पाल्ने किसानलाई नगद ५० हजार अनुदान दिने प्रक्रिया सुरु गरेको हो । त्यस्तै २० क्विनटल धान फलाउनेलाई २० हजार, ५० वटा बढी बाख्रा पाले ५० हजार र ५० कुखुरा पाल्नेलाई पनि नगद ५० हजार अनुदान दिने ब्यवस्था गरेको छ । नयाँपत्रिकाबाट


