धनगढी । आगामी आर्थिक वर्ष देखि बन्द हुने अवस्थामा पुगेको अछामको बयलपाटा अस्पताल प्रदेश मातहतमा सञ्चालन गरिने भएको छ । आइतबार उक्त अस्पताल आगामी आर्थिक वर्षदेखि प्रदेश मातहतमा सञ्चालन गर्ने सहमति भएको हो ।
अस्पताल प्रदेश मातहत सञ्चालन गर्नको लागि न्याय हेल्थ नेपाल र प्रदेश सरकारबिच सम्झौता भएको छ । सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खड्काको उपस्थितिमा भएको सम्झौतामा १७ बुँदा समावेश छन् ।
सम्झौता अनुसार बयलपाटा अस्पतालको पूर्ण स्वामित्व र व्यवस्थापनको जिम्मा प्रदेश सरकारले लिनेछ । सम्झौतामा प्रदेश सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयका सचिव डा। हेमराज रेग्मी र न्याय हेल्थ नेपालका तर्फबाट अध्यक्ष कुन्द दीक्षितले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार भदौ १ गतेदेखि बयालपाटा अस्पताललाई औपचारिक रूपमा प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गरिनेछ । जुन ५० शय्यामा सञ्चालन हुनेछ । आर्थिक अभाव झेलिरहेको अस्पताले ३ महिना अघि सूचना नै जारी गरेर सेवा रोक्ने अवस्थामा पुगेको जनाएको थियो ।
अमेरिकामा रहेको पोसिवल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पहलमा विशेषज्ञ सहितको निःशुल्क सेवा दिइरहेको बयलपाटा अस्पताल पछिल्लो समय विदेशी दाताले सहयोग रकम कटौती गरेपछि सङ्कटमा परेको थियो । यो अस्पतालमा अछाम, बाजुरा र डोटी लगायतका जिल्लाका नागरिकलाई निःशुल्क सेवा लिइरहेका छन् ।


