धनगढी: सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समिति र गेटा अस्पतालका निर्देशक प्रमोद यादव बिच छलफल भएको छ । सोमबार गेटा अस्पतालको पछिल्लो अवस्था र सेवा प्रवाहमा भएको लापरबाहीका कारण जनताले भोग्नुपरेका समस्या सँगै ३ सय शय्याको अस्पताल र चिकित्सा शिक्षा अध्यापन गराउनका लागि आवश्यक नीति र बजेटको व्यवस्था गर्ने विषयमा छलफल गरिएको हो । छलफलमा गेटा अस्पतालले अझै सेवा चुस्त दुरुस्त दिन नसकेको, २४ घण्टा सेवा सञ्चालन गरिएको भनिए पनि प्रभावकारी हुन नसकेको, मनोमानी कर्मचारी नियुक्ति र हटाउने काम गरिएको लगायतका विषयमा सहभागीले गुनासो गरेका थिए ।
सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले ३ सय बेड भनेर अहिले पनि ५० बेडको मात्रै सञ्चालन रहनु विडम्बना भएको बताए । उनले सञ्चालनमा रहेको ५० बेडको अस्पतालमा पनि ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको बताए । उनले ५० बेडका लागि डाक्टर, इक्युबमेन्ट हुँदा पनि डाक्टरहरू अस्पतालमा नबस्ने गरेका कारण बिरामीको चाप बढ्न नसकेको बताए । ‘यहाँ मेसिन बिग्रिएका छन् भनेर निजी अस्पतालमा बिरामी पठाउने, डाक्टर १० बजे आएर ११ बजे जाने जस्ता गुनासा आएका छन्’ उनले भने ‘किन अस्पतालमा बिरामीको चाप बढ्न सकेन भनेर यस क्षेत्रका जनप्रतिनिधि बसेर सल्लाह गर्न आवश्यक छ ।’