धनगढी: कैलालीको गोदावरी नगरपालिका– ३ मा रहेको माउन्ट एभरेष्ट युवा क्लबले प्रथम शम्भु प्रसाद भट्टराई स्मृति भेट्रान पेनाल्टी सुट आउट प्रतियोगिता गर्ने भएको छ । गोदावरी नगरपालिका– ३ मा रहेको उक्त क्लबले यही आउँदो असार ७ गते प्रतियोगिता आयोजना गर्ने भएको हो ।प्रतियोगितालाई गोदावरी नगरपालिका वडा नं. ३ को वडा कार्यालय र मानाङ्क फाउन्डेसनले सहयोग गरेको छ । आयोजक क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको छ ।
क्लबका सचिव आशिष भट्टराईले क्लबका संस्थापक मध्येका एक शम्भु प्रसाद भट्टराईको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले एक दिन आयोजना हुने प्रतियोगितामा करिब ३० वटा टिमहरु सहभागि हुने अपेक्षा रहेको बताए । उनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. २१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बन्ने टोलीले नगद रु. ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालनका लागि अनुमानीत १ लाख ४० हजार जती खर्च लाग्ने आँकलन गरिएको उनले बताए । उनले प्रतियोगितामा ३० वर्ष भन्दा माथीका खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै मानाङ्क फाउण्डेसनका सदस्य बालकृष्ण भट्टराईले वडा नं. ३ का युवाहरुका अभिभावकका रुपमा रहेका शम्भु प्रसाद भट्टराईको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगिताको उद्देश्य युवाहरुलाई एकताको सुत्रमा बाध्नु रहेको बताए । प्रतियोगिताका माध्यमबाट लागुऔषध तथा अन्य कुलतको दलदलमा फसिरहेका युवाहरुलाई खेलतिर आकर्षित गर्ने योजना रहेको समेत उनले बताए । प्रतियोगिताले युवाहरुलाई एकताबद्ध गरी विकासशील कार्यतर्फ प्रेरित गर्ने अपेक्षा लिएको उनको भनाई थियो ।