धनगढी । अछाममा भतिजा भारतमा रहेको मौकामा बुहारीसँग सल्कीएका नातामा ससुरा पर्ने युवकविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । चौरपाटी गाउँपालिका–१ बस्ने थापा थरका २२ वर्षीय युवकविरुद्ध बुहारी नाता पर्ने २० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले ती युवकविरुद्ध जबरजस्तीकरणी गरेको अभियोगमा किटानी जाहेरी दर्ता भएको जानकारी दिए । उनकाअनुसार किटानी जाहेरी दर्ता भएपछि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा ससुरा–बुहारी नाता पर्ने उनीहरुबीच लामो समयदेखि शारीरीक सम्पर्क हुने गरेको प्रहरीको भनाई छ । रोजगारीको सिलसिलामा श्रीमान भारतमा रहेका बेला उनीहरु नजिकिएका थिए ।
पक्राउ परेका युवकले बुहारीसँग शारीरिक सम्बन्ध राखेको भिडियो समेत बनाएका थिए । नजिकै पसल चलाउदै आएका उनी घर नगएर रातिको समय ती महिलासँगै बस्ने गरेको दाबी गरिएको छ । श्रीमान भारतबाट फर्किएपछि पनि उनले राति महिलाको घरमै पुगेर शारीरिक सम्बन्ध राख्न दबाब दिएका थिए तर उनले सम्बन्ध राख्न अस्वीकार गरेपछि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
सोही क्रममा श्रीमान र गाउँका अन्यले थाहा पाएपछि घटना बाहिर आएको थियो । आरोपीत युवकले बुहारीसँग सम्बन्ध राखेको अश्लील भिडियो भतिजा नाता पर्ने उनकै श्रीमानलाई समेत म्यासेन्जरमार्फत पठाएको पाइएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा पक्राउ परेका युवकका दुई सन्तान र श्रीमती छन् ।


