धनगढी: कैलालीको धनगढीमा अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयदेखि सनिवारीय महिला उद्यम मेलासम्म र्यालीको आयोजना गरिएको थियो।
धनगढी उपमहानगरपालिकाले आयोजना गर्दै आएको शनिवारीय महिला उद्यम मेला सञ्चालन हुँदै आएको ठाउँमा महिला दिवस मनाइएको हो। धनगढी उपमहानगरपालिकाका नगर उप–प्रमुख कन्दकला कुमारी रानाले महिलाहरूको आर्थिक पक्ष बलियो हुनुपर्ने बताइन। उनले महिलाका पीर र बेथाहरू सबैको सामु प्रस्तुत गर्न पाएको उनले बताएकी छन्। महिलाहरु सङ्घर्षको लडाइमा रहेको उनको भनाइ छ। स्थानीय तह, प्रदेश र संघमा महिलाको नेतृत्व आवश्यक रहेको बताइन। उनले भनिन, ‘महिलाको आर्थिक पक्ष मात्र होइन। क्षमता अभिवृद्धि, महिलाको सबै पक्ष सशक्त बनाउदैछौ। महिलाहरूले खाजाका परिकारहरू बिक्री गर्दै छन्। सुदूरपश्चिमका स्थानीय परिकारहरू बिक्री हुँदैछन्।’
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले महिलाको उथान र सक्षमताका लागि शनिवारीय उद्यम मेला रहेको बताइन। उनले महिलाको पेसागत सुदृढीकरण गरिएको बताइन। प्रदेशका अन्य स्थानीय तहहरूले पनि धनगढीबाट सिको गर्नुपर्ने उनको भनाइ छ।