धनगढी । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो ।
तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै १४ महिना लामो लडाइँपछि युद्धविराम सम्झौतामा सहमति भएको हो ।
सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ । यस्तै हिजबुल्लाहले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्नेछ ।
युद्धविराम स्थानीय समयअनुसार बुधबार बिहान ४ बजे लागू हुनेछ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास लिइएको छ । इजरायलले सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि गाजासँगै लेबनानमा पनि तनाब उत्पन्न भएको थियो ।
तथापि, यो सम्झौताले गाजा युद्धको समस्यालाई समाधान भने गरेको छैन । जहाँ हामासले अझै पनि दर्जनौंलाई बन्धक बनाएर राखेको छ । यसले गर्दा युद्ध जटिल बनेको छ । यसैबीच सम्झौता लागू हुनुभन्दा केही घण्टाअघि इजरायलले बेरुत र यसको दक्षिणी उपनगरमा आक्रमण गरेको थियो । जसमा ४२ जनाभन्दा बढीको मृत्यु भएको छ ।
युद्धविराम सम्झौताको हिजबुल्लाहले सम्झौता उल्लङ्घन गरेमा इजरायललाई आक्रमण गर्ने अधिकार रहेको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चेतावनी दिएको एपीले जनाएको छ ।
यो युद्धविराम सम्झौता अमेरिकी र फ्रेन्च मध्यस्थतामा सम्पन्न भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले यसलाई सकारात्मक समाचार भन्दै गाजा युद्धमा युद्धविरामका लागि फेरि एकपटक पहल गर्ने आश्वासन दिएका छन् ।
यस सम्झौताले इजरायल र इरानबीचको युद्धको सम्भावनालाई कम गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ । किनकि इरान हिजबुल्लाह र हमास दुवैलाई समर्थन गर्दछ । इरानले यस वर्ष दुईपटक इजरायलसँग प्रत्यक्ष युद्ध गरेको थियो ।