धनगढी : सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री शुरेन्द्र पालले दुर्घटनापछि अचेत रहेका राजेन्द्र बोहरालाई आर्थिक सहयोग गरेका छन् । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर २ क्षेपट्टा स्थाई घर भई हाल कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा बस्ने राजेन्द्र बोहरालाई पालले दुई लाख आर्थिक सहयोग गरेका हुन् । गत जेठ १३ गते मोटरसाइकल दुर्घटनामा परी ढाडमा चोट लागेका बोहरा अच्त अवस्थामा छन् । हालसम्म उपचारमै करिब १८ लाख रुपयाँ खर्च गरिसकेको बोहरा परिवारलाई थप उपचारका लागी कठिनाई भएपछि केही राहत स्वरुप सहयोग उपलब्ध गराएको पालले बताए ।
यो घटना दुर्घटना भन्दापनि सुनियोजित घटना हो भन्ने लागेको छ, बोहराको उपचारमा सर सापटी गरेर पनि परिवारले निकै खर्च गरिसकेको छ पालले भने “अँझै उनि अचेत छन्, उपचार गराउन सके उनि निको हुने सम्भावना छ, त्यस कारण मैले सकिने केही सहयोग गरेको छु र अन्य सबैलाइपनि उनको ज्यान बचाउन सहयोगका लागी अपिल गर्दछु ।”
दार्चुलाको शैल्यसिखर नगरपालिका वडा नम्बर १ बलाँच बस्ने दमन सिहं खडायतले चलाएको सु.प.प्र ०१-००प१२९४ नम्बरको मोटरसाइकल पछाडी बसेका बोहराको बैतडीको डिलासैनी गाउँपालिका ३ रुइतेन भन्ने ठाउँमा दुर्घटना भएको प्रहरी रिपोर्टमा उल्लेख छ । दुर्घटनापछि मोटरसाइकल चालकलाई सम्पर्कमा ल्याएर उपचारको जिम्मा लिने वडा अध्यक्ष भरत खडायतले कागज बनाएका छन् । तर हालसम्म सम्पर्कमा आउन छोडेर उल्टै मोटरसाइकल चालकबाट धम्की आउने गरेको पिडित परिवारको आरोप छ । मोटरसाइकल चालक दमन खडायतले सुनियोजित ढगंले बोहरालाई मोटरसाइकलबाट फालेर मार्ने योजना बनाएको आफन्तले बताएका छन् । घटनालाई तोडमोड गर्ने प्रयास भइरहेको भन्दै बोहराको उपचार सगैं न्यायका लागी सम्बन्धित पक्षसगं परिवारले आग्रह गरेका छन् ।


