धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव दिपककुमार आचार्यले धनगढी विमानस्थलबाट कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई फोनबाट धम्क्याएका छन्। बुद्व एयरलाइन्सको जहाजबाट दिउँसो काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले बोर्डिङ पास नदिएर फर्काएको थियो। बुद्वएयरलाइन्सले आचार्यलाई मदिराको नसा उत्रिएपछि साँझ ५ः५५ को फ्लाइटमा सिफ्ट गरेर फर्काएको थियो।
एयरलाइन्सले फर्काएको झोकमा मदिराको तालमा आचार्यले विमानस्थलबाटै टेलिफोन गरि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई धम्क्याएका थिए। प्रजिअ मिश्रलाई धम्क्याएको खबर पाउनासाथ प्रहरी बिमानस्थल पुगको थियो। प्रहरीले मदिराको तालमा भेटाएपछि उनले आफूबाट गल्ती भएको भन्दै माफी मागेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताए। प्रमुख जिल्ला अधिकारीसँगै माफी मागेपछि आचार्यलाई सम्झाईबुझाई छाडिएको एसपी बिष्टले बताए। आचार्य अहिले काठमाडौँ गइसकेका छन्।


