धनगढी: नेत्रहीन युवा संघ नेपालले राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व हुनु पर्नेमा जोड दिएको छ । संघले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अपाङ्गता भएका व्यक्तिको राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता र प्रतिनिधित्वको अधिकारसम्बन्धि सरोकारवाला पक्षले ध्यान दिनुपर्ने जोड दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय महासचिव अर्जुन रावलले राजनीतिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता नभएकाले अपाङ्गता भएका व्यक्तिका सवाल उठ्न नसकेको बताए । उनले समावेशी एवं अर्थपूर्ण सहभागिताको माध्यमबाट अपाङ्गता समुदायका व्यक्तिहरुले निर्णय प्रकृयामा बस्न पाउने कुराको सुनिश्चिता हुनु पर्नेमा जोड दिए ।
त्यस्तै निर्वाचन प्रणाली अपाङ्गमैत्री हुनु पर्ने उनले बताए । उनले भने ‘संविधान अनुसार निर्वाचनमा उम्मेदवारसम्म बन्ने व्यवस्था भयो । समानुपातिकतर्फबाट छनोट हुँदा छनोट नहुने अवस्था छ । यसका लागि निर्वाचन प्रणाली सुधार गर्नु पर्ने अवस्था छ ।’ उनले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त निर्वाचन प्रणाली हुनु पर्ने बताए ।हरेक क्षेत्रका भौतिक संरचना पनि अपाङ्गमैत्री हुनु पर्ने उनले बताए ।
संघले अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा विगत २०६८ सालदेखि काम गर्दै आएको बताउँदै देशभर १० शाखा रहेको तथा संस्थामा हालसम्म आठ सयभन्दा बढी अपाङ्गता भएका युवाहरु आवद्ध भएको रावलले बताए । संघले दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्तिको शिक्षा,यौन तथा प्रजनन् स्वास्थ्य,रोजगारी,राजनीतिक सहभागिता एवंल प्रतिनिधित्व,पहुँचयुक्त निर्वाचन प्रणाली,क्षमता विकासलगायतका क्षेत्रमा रही निरन्तर काम गरिरहेको उनले बताए ।