धनगढी : धनगढीको मुख्य सडक हिलाम्य हुँदा आवतजावतमा सास्ती भएको छ । निर्माणाधिन क्याम्पसचोक( कैलालीपुल सडकखण्ड बर्षातका कारण हिलाम्य हुँदा आवतजावतमा समस्या भएको हो । सुदुरपश्चिम प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको क्याम्पसचोक-कैलालीपुल सडकखण्ड हिलाम्य बनेको हो । सडकको ठाउँ ठाउँमा पानी जमेपछि दुर्घटनाको जोखिम समेत बढेको छ ।
सरकारले बर्षातका बेला सडक ग्रावेलसम्मपनि गरे सडक यात्रुहरुलाई आवागमनमा सहज हुने स्थानिय बताउँछन् । मोटरसाइकलमा यात्रा गरिरहेका हरिश योगीले असारे बिकासका कारण हरेक बर्षातमा सडकको अवस्था दयनिय बन्ने गरेको बताए । समयमै यो सडक ग्रावेलसम्म गरिदिएको भए बर्षातमा यो स्थिती आउने थिएन उनले भने “यो सडकमा दैनिक मोटरसाइकल दुर्घटना भएका हुन्छन्, मुख्य सडकको बेहाल भइरहँदा एलएनचोक राष्टबैकं सडक बल्ल असार शुरु भएपछि फुटाइयो, यो सडक समयमै फुटाएर नाला बनाएको भए एलएनचोकमा पानी जम्ने थिएननी ।”
मोटरसाइकलमै यात्रा गरिरहेका यमराज ओझाले हिलाम्य सडकका कारण दुर्घटना बढेको बताए । हाम्रा लागी जुन सरकार आएपनि उस्तै हो, बर्खा आयोकी बजेट सक्ने परम्परा हावी छ उनले भने “सडकमा पानी जमेर ताल बनेको छ, यसको निकास खोज्नुपर्ने सरकार खै कहाँ हराउँछ, जनतालाई दुख भइरहेको सरकारले आफै बुझ्नुपर्ने हो, हाम्रा नेताहरु गफमा लागे, काम कम गर्ने भए, यो त धनगढीको एक उदाहरण मात्रै हो, यहाँका सयौँ सडकको अवस्था यस्तै हो, खाली हामीले कर मात्रै बुझाउने हो, काम त आसेपासेकै लागी हुन्छ ।”
पूर्वाधार विकास कार्यालय कैलाली र केएस कन्स्ट्रक्सनबिच २०८० वैशाख २७ गते सम्झौता गरिएको सो सडक निर्माणको काम आधा सकिएको छ । निर्माण कम्पनीले २०८२ वैशाख २६ गतेभित्र सो सडक निर्माण गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता छ । सम्झौताको १४ महिनामा सडक निर्माणको आधा काम सकिएको छ। केएस कन्स्ट्रक्सनले सडकको नाली निर्माण, खाने पानीका पाइप विस्तार, विद्युत् लाइन विस्तार, दुईवटा कलभर्ट निर्माणको काम पुरा गरेको छ । सडकको भौतिक प्रगति ५० प्रतिशत पुरा भएको छ । प्रदेश सरकारको ५१ करोड ६९ लाखमा केएस कन्स्ट्रक्सनले चार लेनको सडक निर्माण गर्दैछ । निर्माण कम्पनीले चालु आर्थिक वर्षमा मात्र २४ करोडको काम गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा १२ करोड बजेट विनियोजन गरेको थियो। विनियोजन गरिएको बजेट खर्च भएपछि थप १२ करो थप गरी २४ करोडको काम भएको छ ।