धनगढी : खेतीपाती सुरु गर्नुअगाडि कृषि औजारको पूजा गर्ने थारू समुदायको परम्परागत चलन संरक्षणका लागि कैलालीको एक गाउँका किसान लागेका छन् । धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादाका किसान परम्परागत कृषि औजारको पूजा गर्ने परम्परागत चलन संरक्षणमा जुर्मुराएका हुन् । उनीहरूले खेतीपातीको काम सुरु गर्नुअगाडि कृषि औजारको पूजाआजा गरेका छन् । विगतमा हलो, जुवा, कोदालो, किल्वाही, हेङ्गालगायतका परम्परागत कृषि औजारको पूजा गरेर मात्रै बर्खे धान खेतीको काम सुरु गर्नुपर्ने यो समुदायमा मान्यता थियोे तर अचेल त्यो चलन हराउँदै गएको छ ।
थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरी कृषि औजारको पूजा गरेर मात्रै खेतीपातीको काम सुरु गर्ने चलन थारू समुदायबाट हराउँदै गएको बताउछन् । पुर्खाको बेलामा चलनचल्तीमा रहेको चलन संरक्षणका लागि आफ्नो गाउँका किसानले विगत तीन वर्षदेखि ‘हरोठ लेना’ कार्यक्रम गर्दै आएको उनले बताए। हलो, जुवा, कोदालो, किल्वाही, हेङ्गालगायतका कृषि औजारको पूजा गर्नुलाई थारू समुदायमा हरोठ लेना भन्ने गरिन्छ ।
उक्त समुदायका व्यक्तिका अनुसार कृषि औजारको पूजाआजा गरेर खेतीपातीको काम सुरु गर्दा औजारकै कारण कुनै बाधा अवरोध हुँदैन । कोदालोले खुट्टा नकाटोस्, हलो, जुवा नबिग्रियोस्, कृषिको सबै काम सप्रियोस् भनेर यो पूजा गर्ने गरेको बताइएको छ ।


