योगेन्द्र नायक धनगढी : सुदुरपश्चिमका सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदकहाँ युवाहरुले गुनासै गुनासा राखेका छन् । शनिबार सु.प मिडिया हाउसको आयोजना तथा प्रदेश युवा परिषद सुदुरपश्चिमको सहकार्यमा आयोजित युवाका सवालमा सामाजिक बिकास मन्त्री संग अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरुले मन्त्री साउँदकहाँ निकै गुनासो पोखेका हुन् । कार्यक्रममा सहभागी अधिकाशं युवाहरुले लागुऔषध नियन्त्रण, बेरोजगारी, बिदेश पलायन लगायतका समस्या समाधान बारे जवाफ मागेका थिए । उनिहरुले बर्तमान अवस्थामा देखिएको युवाहरु बिदेश पलायन भइरहेको स्थितीलाई रोक्न प्रयास गर्नुपर्नेमा जोड दिए । युवाहरु दिनप्रतिदिन बिदेशिरहेका छन्, देश खाली हुँदै छ कार्यक्रममा सहभागी कपिल भट्टले भने “१० बर्षे जनयुद्ध आम नेपाली जनताका लागी थियो की तपाई जस्ता मन्त्री, सांसद नेताका छोराछोरीका लागी थियो, हाम्रो अवस्था जस्ताको त्यस्तै छ, अवस्था तपाइहरुको मात्रै फेरिएको देखियो अरुको अवस्था उस्तै छ, तपाई जस्ता ठुला ठालाका छोराछोरीले महगों स्कुल पढ्न पाउने अनी हामीले शिक्षक समेत नपाइने स्कुलमा कहाँ आयो त गणतन्त्र, अनी कसका लागी ।”
साँच्चिकै गणतन्त्र आएको आभास दिलाउनका लागी राज्यसत्तामा गएकाहरुको नियती ठिक हुनुपर्छ उनले भने “युवाहरुलाई स्वदेशमै रोजगारी दिने कार्यक्रम केही देखिदैन, युवाका क्षेत्रमा आवश्यक बजेट खर्च गर्न समेत नेतृत्वले कन्जुस्याँई गरेको पाइयो, अनी कसरी देशको बेरोजगारी समस्या समाधान हुन्छ, मन्त्री ज्यु युवाका समस्या समाधान र युवाका क्षेत्रमा लगानी गर्न यसपछी पक्कै ध्यान दिइदिनु होला ।” यस्तै कृष्ण पुजाराले सुदुरपश्चिममा आत्महत्याले भयाभह अवस्था श्रृजना हुँने अवस्था आउँदासम्म सरकारले खासै चासो नदिएको बताए । आत्महत्याका घटना दिनानुदिन बढिरहेका छन् उनले भने “आत्महत्या रोक्ने किसिमका कार्यक्रम मैले कुनैपनि देखेन, प्रदेश सरकारको यसमा कदम कस्तो रहन्छ त्यो जवाफ चाहिन्छ ।”
कार्यक्रमका सहभागी दसरथ भट्टले प्रदेश सरकार युवामैत्री नभएको बताए । युवाका लागी मात्रै भनेर चासोका साथ बजेट राखिएकै पाइएन उनले भने “हाम्रो क्षमता अभिबृद्धी, सिकाई लगायतका कामका लागी उचित बजेट राखिएको पाइएन, युवाहरु दिनप्रतिदिन लागुऔषधको सिकार बनिरहेका छन्, यसको मुख्य कारण बेरोजगारी हो, यस संगै सिपमुलक शिक्षाकै अभाव हो, सरकार नामको शिक्षा दिन्छ त्यसले झन बेरोजगारी श्रृजना गरेको छ, युवाहरु बिदेश पलायन भएर भविश्यमा साना बालबालिका र बृद्धबृद्धा मात्रै गाउँमा रहने स्थिती छ, सरकारको ध्यान कता छ मैले बुझ्न सकेको छैन ।” कार्यक्रममा सहभागी नबिता हमालले युवाका लागी जिल्लागत कार्यक्रम सरकारले ल्याउनुपर्नेमा जोड दिइन् । सरकारको लगानी आवश्यकनै हुन्छ, हामीलाई केही गर्न लायक बनाएर सक्दो स्वरोजगार बनाउने हो उनले भनिन् “सबै नराम्रो मात्रै पनि हुँदैन, सकारात्मक काम गरेर सकारात्मक कदमबाट सही मार्गमा हामी पुग्न सक्छौँ, त्यस कारण राज्यको सही ठाउँमा लगानी हुनुपर्छ र लगानी लगाइएको क्षेत्रलेपनि त्यसको सदुपयोग गर्नुपर्दछ ।

यि लगायत सहभागीहरुले बिभिन्न प्रश्न सामाजिक बिकास मन्त्री साउँदकहाँ राखेका थिए । उनले १० बर्षे जनयुद्धको सफलतानै यसरी बोल्न र कार्यक्रम गर्न पाइएको दावी गरे । अहिले जनताको छोरो प्रधानमन्त्री अनी मन्त्री भएका छने, यो जनयुद्ध र जनआन्दोलनकै सफलता हो उनले भने “हामी संघियताकै चरणमा छौँ यसको पुर्ण कार्यान्वयन अँझै भइसकेको छैन, तिन तहका सरकारका काम अँझै जुधिरहेका छन्, अधिकार अँझैँ बाँडफाँड भइसकेका छैनन्, त्यस कारणपनि संघियताको कार्यान्वयनमा कठिन भएको छ, तर केही भएन भन्ने होइन, हामीले युवाकै लागीपनि बिभिन्न सचेतना कार्यक्रम, अभिमुखीकरण, सिपमुलक तालिम लगायत निकै कार्यक्रम ल्याएका छौँ ।” अहिले प्रदेश सरकारले डक्टर पढ्न जेहेन्दारलाई छात्रबृती समेत दिदै आएको छ, हामीले गर्नुपर्ने कुरा स्वरोजगार बनाउने देखी, प्रमाणत्र धितो राखेर श्रृण दिनेसम्मको ब्यवस्था गरेका छौँ उनले भने “अहिले देशको स्थिती यस्तो छ त्यस कारण सोचे जस्तै बजेट आउन सकेन, भविश्यमा युवाका लागी राम्रै कार्यक्रम आउँछन् भन्नेमा बिश्वास गरौँ र सकारात्मक तिर ध्यान दिऔँ, केही छैन भन्ने होइन हामीले भएकै क्षेत्रमा सम्भावना खोज्ने हो ।” मन्त्री साउँदले युवाका सवाल सम्बोधनमा सक्दो प्रयास गर्ने र सहकार्यका लागीपनि आग्रह गरे ।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमका प्रहरी उपरिक्षक श्याम सिहं चौधरीले प्रदेशभरी लागु औषधको अवस्था बारे तथ्याकं प्रस्तुत गरेका थिए । प्रहरी उपरिक्षक चौधरीले कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै प्रहरी लागुऔषध नियन्त्रणका लागी नाकामै रोक्ने, कार्वाही गर्ने देखी सुधार केन्द्रमा राखी उपचार गर्ने सम्मको काममा लागेको उनले बताएका थिए । सु.प मिडिया हाउस प्रा.ली का सञ्चालक दिनेश बिष्टले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक शंकर बोहराले स्वागत गरेका थिए । कार्यक्रममा युवा, बिद्यार्थी तथा सञ्चारकर्मी सहित करिब एक सय जनाको सहभागिता थियो ।


