कञ्चनपुर। कञ्चनपुरबाट ५ लाखबढीका अबैध भन्सार छलीका सामान वरामद गरिएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट भन्सार छलेर ल्याउँदै गरेको ५ लाख ५ हजार ३५० मुल्यका अबैध भन्सार छलीका सामान प्रहरीले वरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार साढे ६ बजे भीमदत्त नगरपालिका–११ भुजेला पुलबाट ती सामान वरामद गरिएको हो। गोप्य सूचनाको आधारमा प्रहरीले मोवाईल स्क्रिन कार्ड, मोवाईलका कभर, मोवाईल चार्ज, डाटा केबल, सोलार बल्ब, जुत्ता, सुट, साडी, कपडा र चेक सर्टलगायत बिभिन्न सामान फेला पारेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्करराज पन्तले वरामद सामान आइतबार नै भन्सार कार्यालय गड्डाचौकीमा पठाइएको बताए।


