अछाम। अछामको पर्यटकीय स्थल रामारोशन ४६ देशका पर्यटकले भरिएको छ। उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूहअन्तर्गत यहाँ आएका हुन्। ती पर्यटक तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका छन्।
विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा सांस्कृतिक कार्यक्रममा ती पर्यटक पनि सहभागी भए। रामारोशन घुम्न आएका ती पर्यटकलाई गाउँपालिकाले स्वागत गर्ने गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले जानकारी दिए। पर्यटकको आगमनले रामारोशनको चर्चा बढ्न थालेको उनको भनाइ छ।पर्यटकलाई रामरोशन घुम्न विभिन्न सर्तसहित अनुमति दिने गरिएको उनले बताए। रामारोशन आएका विदेशी पर्यटक खुला चौरमा टेन्ट टाँगेर बसेका छन्।रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किंम्बदन्ती छ। कतिपयले यो क्षेत्रमा शिवपार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन्।
रामारोशन गाउँपालिका-६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ। बाह्र बण्ड भनेको यहाँका १२ वटा ताल र अठार खण्डले यहाँका १८ वटा चौरलाई जनाउँछ। रामारोशनमा थुप्रै समथर फाँट छन्। झकमक्क फुल्ने फूल यहाँका आकर्षण हुन्। पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ ।