कञ्चनपुर। कञ्चपुरको बेलौरी नगरपालिका ६ का वडाध्यक्ष अवैध तरिकाले रुख काटेको आरोपमा पक्राउ परेका छन् । अनुमति विना रुख कटान गरेको आरोपमा वडा अध्यक्ष भोजराज चौधरी हिजो (आइतवार)पक्राउ परेका हुन् ।
बेलौरीस्थित वर्षौदेखि बन्द छोटी भन्सार क्षेत्रमा केही दिन अघि गरिएको सरसरफाईका क्रममा काटिएका रुखलाई लिएर वडा अध्यक्ष चौधरीलाई पक्राउ गरिएको हो । सरसफाइको क्रममा काटिएका रुखलाई लिएर डिभिजन वन कार्यालयले वडा अध्यक्ष चौधरीलाई पत्र पठाएको थियो। डिभिजन वनको पत्रका आधारमा जवाफ दिन आएका चौधरीलाई पक्राउ गरी हिरासतमा राखिएको हो ।
भन्सार क्षेत्र सरसफाई कार्यक्रममा उप मेयर जोगराम चौधरी लगायतका अन्य जनप्रतिनिधि, स्थानीय सहभागी भएका थिए। सरसफाईमा सहभागी उप मेयर चौधरीले आफूले पनि रुख नकाट्न सल्लाह दिएको प्रतिक्रिया दिएका छन्।सरसफाईका क्रममा भन्सार क्षेत्रमा रुख काटिएपछि उनी विरुद्ध डिभिजन वन कार्यालयमा उजुरी दिइएको थियो।त्यस उजुरीका आधारमा डिभिजनले उनलाई रुख कटान सम्बन्धि पत्र पठाएको थियो। डिभिजन वनले हिरासतमा राखेर चौधरीमाथि अनुसन्धान अघि बढाएको छ ।चौधरी २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।


