काठमाडौँ। काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।
गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए । उनले भने ‘धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ ।’हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन्। हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।
उनका अनुसार चारै जना सोही सस्मिलमा कार्यरत थिए । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ। प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ। थप अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी परिसर काठमाडौंको टोली खटिएको प्रमुख थापाले जानकारी दिए । घटनाको यकिन कारण खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुरहरू पनि ल्याइएको थियो ।


