धनगढी। कैलालीमा पन्ध्र लाखको पर्खाल स्वाहा भएको छ । कैलालीको भजनी नगरपालिका-३ स्थित आधारभूत स्वास्थ्य केन्द्रको सुरक्षाको लागि निर्माण गरिएको १५ लाखमा बनेको पर्खाल बाढीले स्वाहा भएको छ ।
साउनमा आएको बाढीले पर्खाल भत्काएको हो । पर्खाल भत्केपछि स्वास्थ्य केन्द्र सञ्चालनमा ढिलाइ भएको छ । जेठमा १५ लाख रुपियाँ लागतमा पर्खाल निर्माण गर्नुका साथै अगाडि माटो भरान गरिएको थियो ।तर, साउनमा आएको बाढीले पर्खालै भत्काएपछि समस्या भएको नगरपालिका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीले जानकारी दिए। अब पर्खाल मर्मत गरेरमात्रै आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिने उहाँले उल्लेख गरे ।
आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि दुई वर्ष अगाडि भवन तयार गरिए पनि आधारभूत स्वास्थ्य केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन। प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने संघीय सरकारको नीति अनुरुप आर्थिक वर्ष २०७८/८९ मा सो भवन निर्माण गरिएको थियो। संघीय सरकारको ४३ लाख रुपियाँ लगानीमा बनेको भवन प्रयोगविहीन रहेको छ।गोरखापत्रबाट


