धनगढी : धनगढीमा सशस्त्र प्रहरीले छोडेको बस भित्र २६ लाख भन्दा बढीको अबैध समान फेला परेको छ । बिहिबार कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रिरहेको बसबाट प्रहरीले २६ लाख बढीको अबैध समान बरामद गरेको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरीका ४ वटा ब्यारेलमा चेकजाँच गरी धनगढी आइरहेको बसबाट मिलनचोकमा सो समान नेपाल प्रहरीले बरामद गरेको हो । धनगढी उपमहानगरपालिका ३ स्थित मिलनचोकबाट प्रहरीले सार्वजनिक बसभित्र लुकाएर ल्याउँदै गरेको अबैध समान बरामद गरेको हो ।
धनगढीको त्रिनगर नाकाबाट भित्रिएको २६ लाख ६६ हजार मूल्य बराबरको अवैध भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरीको टोलिले धनगढी वडा नम्बर ३ भन्सार नजिकबाट अवैध भन्सार छलीका सामान बरामद गरेको हो। २८ गते बिहान ९ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको ना ५ख ४७३२ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा मोबाइल पार्ट,नक्कली गर गहना, कर्क, ब्याट्री र ईन्भटर लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त बसमा सवार कञ्चनपुर दोधराचाँदनी वडा नम्बर ९ का ४० वर्षीय राहुल सिलवालले बस भित्र भारतबाट लुकाई छुपाई भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा ती सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ। २६ लाख ६६ हजार मूल्य बराबरका अवैध सामानसहित राहुललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय कैलालीलाई बुझाइएको छ। उक्त अवैध सामान बरामद पछि बसलाई गन्तव्य तर्फ पठाई सकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
नाकामा खटिएको सशस्त्र प्रहरीको निगरानीबाटै लाखौँ रकमको तस्करी हुन थालेपछि सशस्त्र प्रहरी माथी प्रश्न उठेको छ । नाकामा तैनाथ शुरक्षा निकायकै अगाडी लाखौँको तस्करी भइरहँदा मिलेमतोमै तस्करी हुन थालेको समेत आरोप लागेको छ । कैलालीको त्रिनगर भन्सारको सुरक्षामा कार्यरत बिओपीले भन्सार छलीका सामान पक्राउ गर्नुको सट्टा उल्टै तस्करलाई प्रोत्साहन गर्ने गरेको स्थानीयको आरोप छ । केही दिनअघी प्रहरीले अबैध रुपमा भित्रिदै गरेका दुई भैँसी सहित भन्सार कार्यालयलाई बुझाएको तस्कर भँगाएको समेत सशस्त्र प्रहरीलाई आरोप लागेको थियो । त्यस अघी तिन साताअघी त्रिनगर नाकाबाट बरामद गरेको ग्रिन टी र सुर्तीका प्याकेट सशस्त्र प्रहरीले भन्सार कार्यालयलाई नबुझाई गायब पारेको थियो ।


